INSEC Online

📅 २०८३ श्रावण ६

उच्च अदालत सुर्खेतमा बलात्कारका मुद्दा धेरै

उच्च अदालत सुर्खेतले बलात्कारका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क सार्वजनिक गरेको छ ।

उच्च अदालत सुर्खेत तथा मातहतका जिल्ला अदालतको आर्थिक वर्ष २०८२–०८३ मा भए गरेका काम कारबाहीको वार्षिक प्रगति विवरण साउन ५ गते वीरेन्द्रनगरमा सार्वजनिक गर्दै उक्त अदालतले बलात्कारका मुद्दाको सङ्ख्या सबैभन्दा बढी रहेको बताएको हो । अदालतका मुख्य न्यायाधीश हरिप्रसाद भण्डारीले आव २०८२–०८३ मा कूल ९ सय १५ मध्ये १ सय ६९ (१८.४६ प्रतिशत) मुद्दा बलात्कारका रहेको जानकारी दिनुभयो ।

त्यस्तै लागुऔषधका १ सय २०, रिट ७९, ज्यान मार्ने उद्योग ७७, कर्तव्य ज्यान ६२, सवारी ज्यान ३५, बलात्कार प्रयासका २६, अंशवण्डा २५ र अन्य प्रकृतिका देवानी तथा फौजदारी मुद्दा ३ सय २२ रहेको उहाँले बताउनु भयो । मुख्य न्यायाधीश भण्डारीले यसरी बलात्कारका मुद्दा बढ्नुमा विकसित सामाजिक परिवेश र त्यसले पारेको नकारात्मक प्रभाव नै रहेको बताउनु भयो ।  कूल मुद्दामा ७ सय ५५ फर्छ्योट र १ सय ६० बाँकी रहेको उच्च अदालत सुर्खेतका निमित्त रजिष्ट्रार  प्रेमप्रकाश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार तीन आर्थिक वर्षमा मुद्दाको लगत तुलना गर्दा पछिल्लो समयमा वृद्धि हुँदै गएको छ । आव २०८०–०८१, २०८१–०८२ र २०८२–०८३ सम्मको तीन वर्षको अवधिमा जाजरकोट जिल्ला अदालतमा क्रमशः ३ सय ४२, ४ सय ११, ४ सय १९, दैलेख जिल्ला अदालतमा ४ सय ६२, ५ सय ३३ र ५ सय ४४, रुकुमपश्चिम जिल्ला अदालतमा ६ सय २०, ६ सय ७९ र ७ सय ८१, सल्यान जिल्ला अदालतमा ७ सय २४, ७ सय ३१ र ८ सय ९, सुर्खेत जिल्ला अदालतमा २ हजार ७ सय १६, दुई हजार ९ सय १२ र तीन हजार १ सय ४६ मुद्दा सङ्ख्या रहेको छ ।

उच्च अदालत सुर्खेतमा २०८०–०८१ मा ९ सय १६, ०८१–०८२ मा ८ सय ३२ र ०८२–०८३ मा ९ सय १५ मुद्दा सङ्ख्या रहेको छ । आव २०८२–०८३ को कार्य प्रगतिलाई हेर्दा उच्च अदालत सुर्खेतले ८२.५, जिल्ला अदालतहरुमा जाजरकोटले ८९.४, दैलेखले ७९.८, रुकुमपश्चिमले ७१.२, सल्यानले ७३.४ र सुर्खेत जिल्ला अदालतले ६३.२ प्रतिशत मुद्दा फर्छ्योट गर्न सफल भएको उच्च अदालत सुर्खेतका निमित्त रजिष्ट्रार थापाले जानकारी दिनुभयो । कालिकोट, जुम्ला, मुगु, डोल्पा र हुम्ला जिल्लाको कार्यक्षेत्र उच्च अदालत सुर्खेत जुम्ला इजलासको पर्दछ ।

कर्णाली प्रदेश कार्यालय

अन्य

भिडियो