जनकपुरधाम उपमहानगरपालिका–२२ बिसपिट्टीकी पाँच वर्षीया लक्ष्मी रायको घाँटी रेटिएको तथा शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरी काठको बाकसभित्र घाइते अवस्थामा ०८३ साउन २ गते फेला परेकी छन। २४ वर्षीय आकाश राय भनिने सदानन्द रायले आफ्नै काकाकी छोरी लक्ष्मीलाई घरमा बोलाएर घाँटी, टाउकोमा धारिलो हतियार प्रहार गरेको पीडित परिवारले आरोप लगाएका छन् ।
बालिकाको बुबा सुरेश रायका अनुसार साउन २ गते दिउँसो छोरी एक्कासी घरबाट सम्पर्कविहीन भएपछि परिवार र स्थानीयवासीले खोजी सुरु गरेका थिए। खोजतलासका क्रममा सोही दिन आरोपितको घरका ढोका बन्द रहेको देखिएपछि शङ्का लागेर वडा अध्यक्ष तथा स्थानीयवासीको उपस्थितिमा घरको ढोका खोलेर हेर्दा बालिकाको घाँटी रेटिएको तथा शरीरका विभिन्न भागमा धारिलो हतियारले प्रहार गरिएको अवस्थामा काठको बाकसभित्र फेला परेकी थिइन्।
आर्थिक अभावका कारण ऋण तिर्न जग्गा बेच्ने तयारीमा रहेको बताउँदै आरोपितले उक्त जग्गा आफूलाई दिन पटक–पटक दबाब दिँदै आएका थिए । सोही विषयलाई लिएर रिसइबी साँध्दै आरोपितले आफ्नी छोरीमाथि धारिलो हतियार प्रयोग गरी हत्या प्रयास गरेको सुरेश रायले बताउनुभयो ।
गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि सोही दिन विराटनगरस्थित नोबेल अस्पताल रेफर गरिएको थियो। नोबेल अस्पतालमा पनि उपचार सम्भव नभएपछि हाल विराट अस्पताल, विराटनगर को सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ ।
आरोपित फरार रहेको हुँदा खोजतलास भइरहेको तथा अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी मधुसुधन न्यौपाने जानकारी दिनुभएको छ ।