INSEC Online

📅 २०८३ श्रावण ५

पहिरोका कारण सडक अवरूद्ध हुँदा एम्बुलेन्स सञ्चालनमा समस्या

पहिरोका कारण सडक अवरूद्ध हुँदा जिल्लाको जोरपोखरी–एकतिन–मेमेङ सडक खण्डमा एम्बुलेन्सलगायतका सवारी साधन आवतजावतमा समस्या भएको छ । एम्बुलेन्सलगायतका सवारीसाधन सञ्चालनमा समस्या हुँदा बिरामीले सास्ती खेप्नु परेको छ ।

फालेलुङ गाउँपालिका–२ एकतिनस्थित जोरपोखरी–एकतिन–मेमेङ सडक खण्डमा पहिरो गएका कारण  सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

निरन्तर पहिरो झरिरहेकाले सडकमा सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । पञ्चमुखी बजार नजिकै बरडाँडा भन्ने स्थानमा सडकभन्दा करिब १ सय मिटर माथिबाट ठूलो पहिरो खसेपछि सडक पुरिएको छ ।

पहिरोका कारण गाउँपालिकाको केन्द्र थकेपुङ, वडा नम्बर ४ मेमेङ तथा वडा नम्बर ३ माङलेवुङ क्षेत्रबाट सदरमुकाम फिदिमतर्फ आउने–जाने सवारीसाधन, औषधि वोकको गाडी र दैनिक उपभोग्य सामग्री ढुवानी पूर्ण रूपमा ठप्प भएको छ ।

फालेलुङ गाउँपालिका–२ का वडाध्यक्ष तिलबहादुर खत्रीले पहिरोले सडक बन्द हुँदा एम्बुलेन्स, स्कूलका गाडी सञ्चालनमा समस्या भएको बताउनु भयो ।   कृषि जमिन तथा नगदेबालीमा समेत क्षति पहिरोले क्षति पुर्‍याएको छ ।

बङ्गालको खाडी हुँदै ०८३ असार ५ गते कोशी प्रदेश भित्रिएको मनसुन अहिले पूर्वी नेपालको हिमाली र पहाडी जिल्लामा बढी सक्रिय भएको छ । जसका कारण निरन्तरको भारी वर्षाका कारण बाढीपहिरोको जोखिम बढेको छ ।

इवारा जवेगु लिम्बू

अन्य

भिडियो