INSEC Online

📅 २०८३ श्रावण ५

खानेपानीका मुहान सुकेपछि भिइ गाउँमा पानीको हाहाकार

लामो समयदेखि वर्षा नहुँदा मुगुको सोरु गाउँपालिका–३ स्थित भिइ गाउँमा खानेपानीका मुहान सुक्न थालेपछि स्थानीयवासी खानेपानी संकटमा परेका छन्। पिउने पानीको अभाव भएपछि करिब ४ सय घरधुरीका स्थानीय राति २ बजेदेखि नै सार्वजनिक धारामा पालो कुर्न बाध्य भएका हुन्।

भिइ गाउँकी कक्षा ६ मा अध्ययनरत सीता धामीले पानीको अभावका कारण सरसफाइमा समेत समस्या भएको बताउनु भयो । हप्तौँसम्म पनि लुगा नधोइ विद्यालय जानुपर्ने अवस्था आएको उहाँको भनाइ छ ।

स्थानीयका अनुसार भिइ गाउँका आठ बस्तीका लागि एउटा मात्र सार्वजनिक धारा रहेको छ। खडेरीका कारण मुहानमा पानीको मात्रा घटेपछि धारामा पर्याप्त पानी आउन छाडेको छ।

कृषक जौमती नेपालीले पानी नहुँदा वस्तुभाउलाई समेत केही दिनको फरकमा पानी खुवाउने गरेको बताउनु भयो ।

सोरु गाउँपालिका–३ का वडाध्यक्ष नवराज धामीले गाउँमा खानेपानीको समस्यास भएपछि बैकल्पिक मुहान खोजिए पनि नभेटिएको बताउनु भयो ।

वडाध्यक्ष धामीले सोरु गाउँपालिकाका बस्तीमा खानेपानी सुविधा विस्तार गर्न संघीय सरकारअन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, सुर्खेतको समन्वयमा बृहत् खानेपानी आयोजना सञ्चालन गरिएको भएपनि निर्माण सुरु भएको चार वर्ष बितिसक्दा समेत गाउँमा नियमित खानेपानी सेवा उपलब्ध हुन नसकेको बताउनु भयो। आयोजना समयमै सम्पन्न नहुँदा स्थानीयले अहिले पनि खानेपानीको चरम अभाव झेल्नुपरेको उहाँको भनाइ छ।

नन्द बहादुर रोकाया

अन्य

भिडियो