INSEC Online

📅 २०८३ श्रावण १

बाल सुधार गृहमा किशोर सचेतना शिक्षा कार्यक्रम सम्पन्न

मानव अधिकार रक्षक सञ्जाल, बागमती प्रदेश र इन्सेक बागमती प्रदेशको आयोजना तथा सुनौलो शिक्षा नेपालको समन्वयमा मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित बाल सुधार गृहमा रहेका ८४ जना बालकहरूका लागि किशोर सचेतना शिक्षा कार्यक्रम ०८३ असार ३२ गते सम्पन्न भएको छ ।

गैरसरकारी महासंघ बागमती प्रदेशका अध्यक्ष तथा सञ्जालका सल्लाहकार कमलकुमार विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी अधिकारीले बाल सुधार गृहमा रहँदा पनि सकारात्मक सोच र आत्मविश्वास कायम राख्न आग्रह गर्नुभयो । उहाँले एकअर्कासँग मिलेर बस्न, सकारात्मक भावना साटासाट गर्न र गल्तीबाट पाठ सिकेर नयाँ जीवनको सुरुवात गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले आपसी प्रेम, सद्भाव र अनुशासनका साथ बस्न आग्रह गर्दै विगतका गल्तीलाई आत्मसात् गरी भविष्यलाई उज्ज्वल बनाउन प्रेरित गर्नुभयो । उहाँले कानुनप्रति सचेत रहँदै आगामी जीवन सही बाटोमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा गैरसरकारी महासंघ बागमती प्रदेशका अध्यक्ष कमलकुमार विश्वकर्माले जीवनमा सही निर्णय, जिम्मेवारी र भविष्य निर्माणका विषयमा प्रेरणामूलक प्रस्तुति दिनुभयो ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय, मकवानपुरका इन्स्पेक्टर कृष्ण दासले साइबर अपराध, सामाजिक सञ्जालको सुरक्षित प्रयोग तथा डिजिटल सुरक्षाबारे जानकारी गराउनुभयो ।

सुनौलो शिक्षा नेपालका अध्यक्ष आशिष दुलालले किशोरावस्थामा हुने शारीरिक, मानसिक तथा सामाजिक परिवर्तनका विषयमा सहजीकरण गर्दै “हामी फेरि पलाउन सक्छौं” भन्ने सन्देशमार्फत सहभागीहरूलाई सकारात्मक सोचका साथ अघि बढ्न प्रेरित गर्नुभयो । उनीहरूलाई आत्मविश्वास, सकारात्मक सोच, कानुनी ज्ञान र जिम्मेवार नागरिक बन्ने प्रेरणा प्रदान गर्नुभयो । उहाँले आगामी दिनमा पनि बाल सुधार गृहमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा बाल सुधार गृहका कार्यालय प्रमुख वासुदेव यादव, नायब सुब्बा प्रदीप गौतम, हिमराइट्स मकवानपुरकी संयोजक तथा सञ्जाल सदस्य कुमारी वाइबा, मानव अधिकारका लागि महिला एकल महिला समूह मकवानपुरकी अध्यक्ष तथा संजाल सदस्य शारदा चौलागाईं, वार्डेन श्रवणकुमार पुडासैनी, सञ्जाल सदस्य विनोद ढकाल लगायतको उपस्थिति थियो । हाल हेटौँडास्थित बाल सुधार गृहमा १४ वर्षदेखि २३ वर्ष उमेर समूहका ८४ जना बालकबिज्याइँकर्ताहरु रहेका छन् । 

मञ्जिता मैनाली

अन्य

भिडियो