विश्व युवा सीप दिवस २०२६ को अवसरमा ‘ज्येष्ठ पुस्ताबाट युवा पुस्तासम्म: मधेशमा परम्परागत सीप र ज्ञानको पुस्तान्तरण’ विषयक अन्तरपुस्ता संवाद कार्यक्रम ०८३ असार ३१ गते नेपाल पत्रकार महासंघ धनुषाको सभाहलमा सम्पन्न भएको छ।
मिडवानको आयोजनामा तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), नेपाल आदिवासी जनजाति महासंघको सहकार्यमा आयोजित कार्यक्रममा मिडवानकी अध्यक्ष दीपिका लामाले कार्यक्रमको उद्घाटन गर्दै विश्व युवा सीप दिवसको सान्दर्भिकता उल्लेख गर्नुभयो । उहाँले ‘ज्येष्ठ पुस्ताबाट युवा पुस्तासम्म मधेशमा परम्परागत सीप र ज्ञानको पुस्तान्तरण’ विषयले स्थानीय समुदायमा रहेका परम्परागत ज्ञान, सीप र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा त्यसको हस्तान्तरणबारे सार्थक बहस सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा इन्सेक मधेश प्रदेश कार्यालयका संयोजक राजु पासवानले परम्परागत सीप, सामाजिक संरचना, संस्कृति र स्थानीय ज्ञानको संरक्षण तथा पुस्तान्तरणका लागि स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वित युवा नीति आवश्यक रहेको बताउनुभयो । युवालाई सही दिशा निर्देशनका लागि परिवार र विशेषगरी समाजको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै उहाँले महिलाको शिक्षा र सशक्तीकरणमा लगानी बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले पुर्खौली पेसा र परम्परागत सीपको संरक्षणमा विशेषगरी दलित समुदायको महत्वपूर्ण योगदान रहेको बताए। युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न, वैदेशिक रोजगारीमा निर्भरता घटाउँदै कृषि क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न तथा युवामा इच्छाशक्ति र उद्यमशीलताको विकास गर्न सरकारको विशेष ध्यान आवश्यक रहेको बताउनुभयो । बढ्दो लागूऔषध दुव्र्यसनप्रति चिन्ता व्यक्त गर्दै विद्यालय तहको पाठ्यक्रममै सीप, कला र व्यावसायिक शिक्षालाई समावेश गर्नुपर्ने उहाँको भनाइ थियो। युवा नै देशको विकास र निर्माणका प्रमुख आधार भएकाले उनीहरूमाथि राज्यले पर्याप्त लगानी गर्नुपर्नेमा पासवानले जोड दिनुभयो।

नेपाल आदिवासी जनजाति महासघं (नेफिन) मधेशका नेम्बर राईले समुदाय, संस्कृति र विकास एकअर्कासँग अन्तरसम्बन्धित रहेको उल्लेख गर्दै मधेशको पहिचान तथा आदिवासी समुदायको मौलिक ज्ञान, सीप र संस्कृतिको संरक्षणका लागि प्रभावकारी नीति आवश्यक रहेको भन्नुभयो । ज्येष्ठ पुस्तामा रहेको अनुभव, परम्परागत ज्ञान र सीपलाई युवा पुस्तामा हस्तान्तरण गर्न समुदाय र राज्यले साझा जिम्मेवारी निर्वाह गर्नुपर्ने उहाँले धारणा राख्नुभयो । राईले आधुनिक सीपसँग परम्परागत ज्ञानको समन्वय गर्दै युवालाई उत्पादनमूलक क्षेत्रमा जोड्नुपर्ने आवश्यकता रहेको भन्नुभयो । सामाजिक सञ्जालको बढ्दो प्रभावका कारण धेरै युवा नकारात्मक लत र विकृतितर्फ आकर्षित भइरहेको उल्लेख गर्दै उहाँले युवालाई भाषा, संस्कृति, पहिचान र परम्परागत सीपसँग जोडेर सृजनशील बनाउनुपर्ने बताउनुभयो।
लेखक तथा पत्रकार नित्यानन्द मण्डलले परम्परागत ज्ञान, सीप र जीवनशैलीबाट समाज क्रमशः टाढिँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो। आफ्नै खेतबारीमा उत्पादन हुने खाद्यान्नको सट्टा बाह्य उत्पादनमा निर्भरता बढ्दै गएको भन्र्दै स्थानीय उत्पादन, कृषि र आत्मनिर्भरताको प्रवद्र्धन अहिलेको आवश्यक रहेको बताउनुभयो । डिजिटल प्रविधिको विस्तारसँगै साइबर अपराधका चुनौती पनि बढ्दै गएको भन्दै राज्यले युवाको शिक्षा, सीप विकास र रोजगारीमा लगानी बढाउनुपर्ने धारणा राख्नुभयो ।
दलित महिला अधिकारकर्मी चमेली देवी दासले दलित समुदायमा रहेका परम्परागत सीप, श्रम र जीविकोपार्जनका माध्यमको संरक्षण तथा प्रवद्र्धनका लागि प्रभावकारी सरकारी नीति आवश्यक रहेको बताउनुभयो । उहाँले दलित समुदायका बालबालिकाको गुणस्तरीय शिक्षा र सीपमूलक सिकाइमा विशेष जोड दिनुपर्ने धारणा राख्दै ढाकि ,डलिया लगायतका परम्परागत हस्तकलाको बजारीकरण नहुँदा ती सीप लोपोन्मुख बन्दै गएको उल्लेख गर्नुभयो । दासले कृषिमा मलको अभाव, किसानको बीमा तथा कृषि उत्पादनको संरक्षणमा सरकारले विशेष ध्यान दिनुपर्ने भन्नुभयो ।
कार्यक्रममा सहभागीहरुबीच परम्परागत सीप, स्थानीय ज्ञान, भाषा, संस्कृति तथा पुर्खौली पेसाको संरक्षण र पुस्तान्तरणलाई राज्यको नीतिगत प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। उनीहरूले ज्येष्ठ पुस्तामा रहेको ज्ञान, अनुभव र सीपलाई युवा पुस्तासम्म हस्तान्तरण गर्न नसके समुदायको मौलिक पहिचान, सांस्कृतिक सम्पदा र परम्परागत जीविकोपार्जनका आधारहरू बारे छलफल भयो । 