१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले गुल्मी जिल्ला मदाने गाउँपालिका–६ पुर्कोटदह घर भई तानसेन बस्दै आएका २१ वर्षीय दिपक चुदारोलाई २ वर्ष ९ महिना कैदको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद शर्मा उपाध्यायको असार २४ गतेको इजलासले आरोपितलाई आंशिक कसुर ठहर गर्दै २ वर्ष ९ महिना कैद, २५ हजार रुपियाँ जरिवाना र ४ लाख रुपियाँ क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार केशव पराजुलीले बताउनु भयो ।
आरोपितले पीडितलाई ०८१ मंसिर १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले मंसिर १८ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई मंसिर १८ गते तानसेनबाटै गिरफ्तार गरेको थियो ।
जिल्ला अदालत पाल्पाका तत्कालीन न्यायधिश दल बहादुर केसीको ०८१ पुस ८ गतेको इजलाशले आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । पीडितको स्वास्थ्य परीक्षण मंसिर १८ गते पाल्पा अस्पतालमा गरिएको थियो ।