INSEC Online

📅 २०८३ असार ३१

उपचारका क्रममा एक जना थुनुवाको मृत्यु

हिलिहाङ गाउँपालिका–१ का ३१ वर्षीय सन्देश राईको उपचारका क्रममा ०८३ असार २४ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।

जिल्ला कारागार कार्यालय, पाँचथरका थुनुवा राई बिरामी भएपछि थप उपचारका लागि असार १८ गते कोशी अस्पताल भर्ना गरिएको थियो ।

उपचारकै क्रममा राईको असार २४ गते मृत्यु भएको कारागार कार्यालय मोरङका प्रशासक राजन घिमिरेले बताउनु भयो ।  मोरङ कारागारका प्रशासक घिमिरेले मृतक राई पाँचथर कारागारकै थुनुवा हुन, उपचारका लागि कोशी अस्पताल भर्ना गरिएपछि सुरक्षाको जिम्मा मोरङ कारागारले लिएको बताउनु भयो ।

कर्तव्य ज्यान मुद्दाका राईलाई पाँचथर जिल्ला अदालतले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न ०८२ मंसिर ७ गते आदेश दिएको थियो । अदालतको आदेशसँगै जिल्ला कारागार पाँचथरमा राखिएका उनी बिरामी परेपछि जिल्ला अस्पताल फिदिममा उपचार गराइएको थियो ।

फिदिममा सम्भव नभएपछि थप उपचारका लागि विराटनगर रेफर गरिएको थियो । विराटनगर ल्याएर ०८३ असार १८ गते कोशी अस्पताल भर्ना गरिएको थियो ।

मृतक राई मुटु, मृगौला र फोक्सोको दीर्घ रोगी रहेको कारागार प्रशासक राजन घिमिरेले बताउनु भयो ।

राईको मृत्युको जानकारी पीडित परिवारलाई दिएको कारागार प्रशासनले जनाएको छ । मोरङ कारागारका प्रशासक घिमिरेले राईको शव पाँचथर कारागारलाई नै जिम्मा लगाइएको र बाँकी प्रक्रिया पाँचथरबाट नै हुने बताउनु भयो । पीडित परिवारले असार २५ गते शव बुझेर सद्गत गर्ने भएका छन् ।

विनोद सुवेदी

अन्य

भिडियो