जाजरकोट अस्पतालमा बिरामीको चाप बढ्न थालेकाले अस्पतालले बिरामीलाई भुँइमा राखेर उपचार गराउँदै आएको छ ।
५० शैयाको अस्पतालमा स्तरोन्नति नहुँदा बिरामीको चाप बढेपछि भुँइमा राखेर उपचार गर्न बाध्य भएको अस्पतालका डाक्टर महेश सिलवालले बताए ।
अस्पतालमा अहिले झाडापखाला र टाउको दुखाई लगायत रोगका बिरामी उपचारका लागि बढी आउने गरेको उनले बताए ।
निर्माण व्यावसायीको चरम लापारवाहीका कारण अस्पतालका निर्माणाधिन भवन पाँच वर्षदेखि निर्माण नहुँदा बिरामीको चाप बढेका बेला भुँइमा राखेर उपचार गराउनु परेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशिला बस्नेत बताउँछिन् ।
एउटा बेडमा दुईजना बिरामीलाई राखेर पनि उपचार गराउनु परेको थियो र बेडमा पनि नअटाएपछि केही बिरामीलाई भुँइमा राखेर उपचार उपचार गराउनु परेको स्वास्थ्यकर्मी रामप्रसाद शर्मा बताउँछन् ।
अहिले अस्पतालमा विशेषज्ञ सेवा पाइने भएपछि बिरामीको भिड लाग्ने गरेको छ । उपचारका लागि नेपालगञ्ज, काठमाडौैँ लगायतका ठाउँमा गएर उपचार गर्नु पर्ने बाध्यता भएकोमा अहिले जिल्ला अस्पतालमानै विशेषज्ञ उपचार सेवा पाउने भएपछि पनि बिरामीको संख्या बढेर अस्पतालमा भिड लाग्ने गरेको चिकित्सकहरु बताउँछन् ।
२०३२ सालमा निर्माण गरिएको अस्पतालका भवनहरु अहिले जिर्ण हुँदै आएका छन् । अस्पताललाई स्तरोन्नति गरिएपनि प्रभावकारी उपचारमा अझै पनि समस्या पर्दै आएको छ ।
अहिले अस्पतालमा रुकुम पश्चिमका केही भागबाट र जाजरकोटसँग सिमाना जोडिएका डोल्पाका केही भागबाट बिरामीहरु उपचारका लागि आउने गरेको जिल्ला अस्पतालको तथ्याङ्कमा रहेको छ ।
सरकारले १५ शैयाको जिल्ला अस्पताललाई पाँच वर्षअघि ५० शैयामा स्तरवृद्घि गरेको भएपनि अस्पतालको भौतिक संरचना, दरबन्दी अनुसारको जनशक्ति र अस्पताललाई आवश्यक उपकरणको व्यवस्था नगरिँदा पनि बिरामीको उपचारमा समस्या हुने गरेको नागरिक समाजका अगुवा राजेन्द्रविक्रम शाहले बताए ।