जिल्ला अदालत महोत्तरीबाट सफाई पाएका एमाले नेता तथा पूर्व प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो (कोइरी)लाई उच्च अदालत जनकपुरले असई थमन विक हत्या प्रकरणमा ०८३ असार १७ गते दोषी ठहर गर्दै पाँच वर्ष कैद सजाय सुनाएको छ ।
न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले जिल्ला अदालत महोत्तरीले गरेको फैसलामा हेरफेर गरी जन्मकैद संशोधन गर्दै पाँच वर्ष कैद हुने फैसला गरेको छ।
यसअघि महोत्तरी जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको एकल इजलासले ०८० मंसिर २८ गते प्रदेश सभा सदस्य तथा लोसपा संसदीय दलका नेता अभिराम शर्मा, प्रदीप साह माझी, संजय साह, रामशंकर मिश्र, सुरेश पाण्डेय र धम्रेन्द्र रायलाई जन्मकैदको फैसला सुनाएको थियो । विकको कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत महोत्तरीबाट आरोपी पवन कापर र प्रतिनिधिसभा सदस्य लक्ष्मी महतोले सफाइ पाएका थिए ।
२०७२ भदौ २५ मा संविधानमा मधेशीको अधिकार स्थापित गराउनका लागि भएको मधेश आन्दोलनको क्रममा भएको असई विक हत्या प्रकरणमा एमालेका प्रतिनिधिसभा सदस्य महतोसहित २८ जनाविरुद्ध ०७५ साउन २८ गते कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो। यसैगरी, प्रदीप साह माझी, सञ्जयकुमार साह र मोहन ठाकुरलाई कर्तव्य ज्यानसम्बन्धी कसुरमा दोषी ठहर गर्दै मुलुकी ऐन, ज्यान सम्बन्धी महलको दफा १३(३) बमोजिम जन्मकैद हुने फैसलालाई उच्च अदालतले सदर गरेको छ ।