हुम्लाका सात ओटा गाउँपालिकामा रहेका न्यायिक समितिमा ३ सय ७१ उजुरी परेकोमा अधिकांश उजुरी मिलापत्रमा टुङ्गिएको न्यायिक समितिका संयोजकहरूले जनाएका छन् ।
सातओटा गाउँपालिकामध्ये तुलनात्मक रूपमा जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकामा सबै भन्दा बढी २ सय उजुरी परेका छन् भने सबैभन्दा कम लामा समुदाय भएको नाम्खा गाउँपालिकामा पाँच ओटा मात्र उजुरी परेका छन् ।
यता सिमकोटमा गाउँपालिकामा १६, खार्पुनाथमा ३०, सर्केगार्डमा ५०, चङ्खेलीमा ४० र अदानचुलीमा ४० ओटा उजुरी परेको गाउँपालिका स्थित न्यायिक समितिका संयोजकहरूले जानकारी दिए ।
खार्पुनाथ गाउँपालिकामा परेका ३० उजुरीमध्ये सम्बन्धबिच्छेदको उजुरी जिल्ला अदालत पठाइएको न्यायिक समितिका संयोजक सिन्धु हमाल शाहीले बताइन् ।
पाँचओटा छलफल गर्न बाँकी रहेको र अन्य सबै उजुरी मेलमिलाप र समझदारीबाटै टुङ्गिएको संयोजक शाहीले जानकारी दिईन् ।
गाउँपालिकामा आएका सबै उजुरी मेलमिलापबाट टुङ्ग्याइएको सिमकोट गाउँपालिका न्यायिक समितिका संयोजक तथा उपाध्यक्ष बलि रावतले बताए ।
पीडित र आरोपित पक्षबिच छलफल हुँदा सहमतिमा जान इच्छुक हुने भएकोले पनि अधिकांश उजुरीमा मेलमिलाप गर्न सहज भएको उनले बताए ।
समितिले आफ्नो काम अगाडि बढाइरहेको भए पनि इजलास कक्ष र जनशक्तिको अभावले काम गर्न भने गाह्रो भएको उनले बताए ।
हाल समितिमा आउने यस्ता उजुरी माथि छलफल आफ्नै कार्य कक्षमा गर्ने गरेको संयोजक रावतको भनाई छ ।
घरेलु हिंसा, लेनदेन, जग्गा, साँध र कुलो सम्बन्धी उजुरी बढी आउने गरेको र ती सबैलाई मेलमिलाप गरेरै छिनोफानो गरिएको चङ्खेली गाउँपालिकाको न्यायीक समितिका संयोजक तथा उपाध्यक्ष बिमला शाहीले बताइन् ।
अहिलेसम्मका मुद्दामा जटिल भई फैसला गर्ने चरणमा प्रवेश गर्नु नपरेको बताउँदै शाहीले कानुन जानेका कर्मचारीको अभावले मेलमिलाप भएका उजुरीमा पनि लेख्न समस्या भएको गुनासो गरिन् ।
सबैभन्दा कम उजुरी परेको नाम्खा गाउँपालिकामा सबै उजुरी जग्गा विवाद सम्बन्धी परेको संयोजक तथा उपाध्यक्ष पेमा लामाले बताए ।
उजुरीहरू पर्ने गरेको भए पनि अहिलेसम्म कानुनको ज्ञान, कार्यविधि तथा आवश्यक कर्मचारी नभएको कारण सबै उजुरीहरूमा ब्यवहारिक रूपमा मेलमिलाप गर्ने गरिएको सर्केगार्ड गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक जोशी धामीले बताए ।
सानातिना कुरामा पनि गाउँपालिकाको न्यायिक समितिमा उजुरी आउने गरेको अदानचुली गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक सौमति ऐडीले बताइन् ।
धेरैजसो उजुरीमा हुने छलफलमा आफु पनि बस्ने गरेको र स्थानीय चलन अनुसार मेलमिलाप गरेर मिलाइने गरिएको ताँजाकोट गाउँपालिका अध्यक्ष बागदल मल्लको भनाई छ ।