पुरूष सरह गरिने काममा दिइने ज्यालामा भने विभेद हुने गरेको जिल्लाका श्रमिक महिलाले गुनासो गरेका छन् ।
पातारासी गाउँपालिका–६ उर्थुचौताराका महिलाले समान कामको समान ज्याला नपाएको भन्दै गुनासो गरेका हुन् ।
उर्थुचौतारामा यतिबेला शिव मन्दिर निर्माणको काम भइरहेको छ । मन्दिरको निर्माणको लागि महिला श्रमिकले दिनभर नदीको ढुङ्गा बोक्छन् ।
महिला श्रमिकलाई एक दिनको पारिश्रमिक ४ सय रुपियाँ दिइन्छ भने पुरूष श्रमिकले सोही कामबापत् ८ सय रुपियाँ पारिश्रमिक लिने गरेका छन् ।
एउटै काम गरेपनि महिला श्रमिकले पुरूष श्रमिकको तुलनामा आधामात्रै पारिश्रमिक पाउने क्रम समाजमा अझै पनि यथावत् रहेको छ ।
पातारासी गाउँपालिका–६ उर्थुचौताराकी उजेली विष्टले भन्छिन्–‘हामी महिलाले पहिलेदेखि अहिलेसम्म पुरूषले भन्दा बढी नै काम गरेपनि समान कामको समान ज्याला पाएकै छैनौँ ।’ समान काम गरेका पुरूष र महिला श्रमिकको ज्याला फरक हुँदा दुःख लाग्ने विष्ट बताउँछिन् ।
पातारासी गाउँपालिका–५ लासी गाउँकी ६० वर्षीया रामतुला बुढा महिलाको दिनचर्या चुलोचौकोमै बितेको भन्दै श्रम गरेर खाँदा पनि विभेद हुने गरेको गुनासो गर्छिन् ।
दैनिक रूपमा मजदुरी गरेर छाक टार्ने जुम्ला जिल्लाका महिलाले समान ज्याला नपाउँदा चेतनाको अभाव र पाएको काम पनि नपाउने डरले उनीहरूले आवाज नउठाएको बुढा बताउँछिन् ।
यस्ता विभेद स्थानीय सरकारले थाहा पाए पनि उनीहरूले महिलालाई समान अधिकार दिने विषयलाई गम्भिरतापुर्वक नलिएको चन्दननाथ नपा–३ की श्रमिक महिला गौँकली कुलालको आरोप छ । अधिकार जति नै आएपनि कागजी रूपमा मात्र सीमित हुँदा विभेद कायमै रहेको कुलाले बताइन् ।
पातारासी गाउँपालिकाका अध्यक्ष लक्ष्मीमान बोहोरासँग यस विषयका बारेमा बुझ्दा आफुलाई सो बारेमा थाहा नभएको बताए ।
छिटै वडाध्यक्षहरूसँग छलफल गरी समान ज्याला कायम गराउन गाउँपालिकाले भूमिका खेल्ने बोहराले प्रतिबद्धता व्यक्त गरे ।