INSEC Online

📅 २०८३ असार १५

पहिरोका कारण दुई ओटा विद्यालयमा क्षति, पठनपाठन ठप्प

सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण दुई विद्यालयमा क्षति पुगेपछि पठनपाठन पूर्ण रूपमा ठप्प भएको छ ।

वर्षापछि आएको बाढी–पहिरोले सिलिचोङ–१ नेवाटारमा रहेको कालिका माध्यमिक विद्यालय र सिलिचोङ गाउँपालिका–४ मा रहेको बागेश्वरी आधारभूत विद्यालयमा क्षति पुर्‍याएपछि पठनपाठन ठप्प भएको गाउँपालिका अध्यक्ष मेवाहाङले बताउनु भयो ।

कोशी प्रदेशबाट ०८३ असार ५ गते भित्रिएको मनसुन क्रमश सक्रिय हुँदै गएपछि हिमाली जिल्ला सङ्खुवासभा अत्यधिक मात्रामा वर्षा भइरहेको छ । जसका कारण सिलिचोङ गाउँपालिकामा विद्युत, सञ्चार तथा यातायात सेवा अवरुद्ध भएको छ ।

बाढी पहिरोका कारण गाउँपालिका केन्द्रसम्म पुग्ने सडक अवरुद्ध हुनुका साथै केन्द्रीय विद्युत, माइक्रो हाइड्रो, इन्टरनेट तथा सञ्चार सेवा प्रभावित भएका कारण सरकारी सेवा प्रवाहमा समेत समस्या गाउँपालिका अध्यक्ष मेवाहाङले बताउनु भयो ।

बाढीले स्थानीय दुई ओटा माइक्रो हाइड्रो आयोजना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन । करिब ७० प्रतिशत सञ्चार सेवा अवरुद्ध हुँदा जनजीवन थप प्रभावित बनेको छ । माथिबाट खसेको पहिरोले  सिलिचोङ गाउँपालिका–१ नेवाटारमा कालिका माध्यमिक विद्यालयका क्षति पुगेको छ । पहिरोले कालिका माध्यमिक विद्यालयको १५ ओटा कक्षा कोठा चिराचिरा परेको र तथा शैक्षिक सामग्रीमा क्षति पुगेपछि पठनपाठन समेत ठप्प भएको हो । कालिका माविका १ सय ७० जना  विद्यार्थी अध्ययनरत छन । सिलिचोङ गाउँपालिका–४ स्थित बागेश्वरी आधारभूत विद्यालयमा समेत क्षति पुगेको छ ।  पहिरोले विद्यालय भवन तथा शैक्षिक सामग्रीमा क्षति पुर्‍याएपछि दुई विद्यालयको पठनपाठन रोकिएको हो ।  बाढी तथा पहिरो प्रभावित बस्तीको तत्काल अनुगमन, सुरक्षित स्थानमा स्थानान्तरण, राहत वितरण तथा पुनस्र्थापनाका लागि कोशी प्रदेश सरकार र संघीय सरकारसँग तत्काल आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरिएको गाउँपालिका अध्यक्ष मेवाहाङले बताउनु भएको छ ।

भविन कार्की

अन्य

भिडियो