INSEC Online

📅 २०८३ जेष्ठ २२

विप्लव नेतृत्वको नेकपाका चार जना कार्यकर्ता गिरफ्तार

काभ्रेपलाञ्चोक जिल्लामा नेकपा विप्लव समूहको सक्रियता बढेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालयबाट खटिएको प्रहरी टोलीले चैत ५ गते बिहान विप्लव नेतृत्वको नेकपाका चार जना कार्यकर्तालाई गिरफ्तार गरेको छ ।

रोशी गाउँपालिका–२ शिखरआम्बोटे स्थित काफ्ले डाँडाबाट झापा जिल्ला, मेची नगरपालिका–३ घर भई हाल थानकोट बस्ने ३३ वर्षीय शिव धिमाल, दाङ जिल्ला तुलसीपुर उप महानगरपालिका–३ का ३० वर्षीय नृपबहादुर विश्वकर्मा, भोजपुर जिल्ला टेम्केमैयुम् गाउँपालिका–१ निम्बाका ३१ वर्षीय डिकेन्द्र राई र सिन्धुपाल्चोक जिल्ला, जुगल गाउँपालिका–६ नेवारटोलका ३३ वर्षीय विशाल तामाङलाई प्रहरीले गिरफ्तार गरेको हो ।

उनीहरूलाई गिरफ्तार गर्ने क्रममा प्रहरीले चार राउण्ड हवाई फाइरिङ गरेको थियो । गिरफ्तार भएकाहरूलाई प्रहरीले महानगरीय प्रहरी परिसर काठमाडौँ लगेको छ ।

काभ्रेबाट शिव धिमाल र विशाल तामाङलाई गिरफ्तार गरिएपनि नृपबहादुर र डिकेन्द्रलाई चैत ५ गते बिहान काठमाडौँबाट गिरफ्तार गरिएको हो ।

प्रहरीले गिरफ्तार भएकाहरूसँग धेरै सामग्री र दस्तावेज फेला पारेको भनेपनि केही प्रचार सामग्री र विप्लव कार्यकर्ताहरूको मोवाइल–ल्यापटप नियन्त्रणमा लिएको जनाइएको छ ।

आरोपितहरूलाई फागुन १० गते ललितपुरको एनसेल टावर विष्फोट गराएर एक जनाको हत्या भएको, कमलपोखरीको मिठाई पसलमा विष्फोट गराइएको र बसुन्धरास्थित रोहन गुरुङको घरमा विष्फोट गराइ क्षति पुर्‍याएको आरोप लगाइएको छ ।

सरकारले फागुन २८ गतेबाट विप्लव समूहलाई प्रतिबन्ध लगाएर आपराधिक क्रियाकलाप नियन्त्रणका लागि परिपत्र गरेको थियो ।

काभ्रेपलाञ्चोक जिल्लामा नेकपा विप्लव समूहका नेताहरू क्रियाशील रहेको सूचनाको आधारमा महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट एसपी सोमेन्द्र राठौरको नेतृत्वमा प्रहरी टोली खटिएको थियो ।

रोशी गाउँपालिकामा केही समय अघिदेखि ताम्सालिङ स्वायत्त प्रदेशका नाममा नेकपा विप्लव समूहले पर्चा–पम्प्लेट वितरण गर्नुका साथै ठाँउ–ठाँउमा व्यानरहरू टाँसेको देखिन्थ्यो ।

अन्य

भिडियो