पुनर्स्थापनाको अभावमा विगत चार वर्षदेखि १४ परिवार वादी समुदाय दिपायल सिलगढी नगरपालिका–४ स्थित सेती प्राविधिक शिक्षालय दिपायलको मुनि रहेको खोलाकिनारमा कष्टकर जिवन बिताउन बाध्य भएका छन् ।
आफूहरूको नाममा कतै पनि जग्गाजमीन नभएका कारण १४ परिवार बादी समुदाय टहरा निर्माण गरी खोला किनारमा जोखिमपुर्ण जीवन बिताउँदै आएको ४० वर्षीय धौले वादीले दुखेसो पोखे ।
भूमिहीन सुकुम्बासी परिवारलाई घरबासका लागि जग्गा उपलब्ध गराउने योजना कागजमा मात्रै सिमित भएको ३८ वर्षीया कोशील्ला वादीको आरोप छ ।
झरी परेको दिन टहरा चुहिने र बर्खाको समयमा खोलाले बगाउँछ कि भनी रातभरी अनिदो बस्दै आएको ५८ वर्षीय देव वादीले दुखेसो पोखे ।
‘सडक किनाराका घर टहरा हटाउनु पर्ने भनी सडक विभागले भन्दै आएको छ । त्यसपछि कहाँ बस्ने ? सडक विभागले आफूहरूलाई हटायो भने बिचल्ली हुन्छ । पुनर्स्थापनाका लागि पहल गरिदिए हामीलाई राहत पुग्थ्यो ।’–३० वर्षीय अश दासले भने ।
‘चार वर्षदेखि खोला किनारमा बस्दै आएका छौँ । सरकारले केही गरेको छैन । धेरै मान्छे आउँछन् । फोटो खिच्छन् र लैजान्छन् । तर हाम्रा समस्या कसैले बुझेको जस्तो लागेन ।’–४८ वर्षीय तारादेवी वादीले भनिन् ।
संविधानको धारा ३७ मा प्रत्येक नागरिकलाई उपर्युक्त आवसको हक हुनेछ भनिएको छ तर सरकारले आफूहरूको बसोबासको ब्यवस्था गरेका कारण खोलाको किनारामा रात बिताउनु परेको ३५ वर्षीय कलसिं वादीले दुखेसो पोखिन् ।
दिपायल सिलगढी नगरपालिका–४ सेती प्राविधिक शिक्षलयको सडक मुनी खोला किनारमा बस्दै आएका वादी समुदायको आवासका लागि नगरपालिकाले बजेट छुट्याइसकेको र जग्गाको खोजी कार्य भइरहेको दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले बताइन् ।