INSEC Online

समाचारको विषयलाई लिएर पत्रकारलाई ज्यान मार्ने धम्की

नेपाल पत्रकार महासंघ पाल्पा शाखाका कोषाध्यक्ष तथा पत्रकार विजय बौडेललाई समाचार प्रकाशनको विषयलाई लिएर ०८३ असार २ गते राति अपरिचित नम्बरबाट फोन गरी ज्यान मार्ने धम्की दिइएको छ ।

पीडितले असार ३ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दर्ता गराउँदै दोषीको पहिचान र कानुनी कारबाहीको माग गरेका छन् ।

पत्रकार बौडेलका अनुसार असार २ गते पाल्पाको बगनासकाली गाउँपालिका–३ आर्यभञ्ज्याङमा इभी गाडी र बस एकआपसमा ठोक्किएको घटनासम्बन्धी समाचार माडी भ्यु मिडियामा प्रकाशित भएपछि आफूलाई धम्की आएको हो।

घटनाप्रति नेपाल पत्रकार महासंघ पाल्पा शाखा र प्रेस चौतारी नेपाल पाल्पा शाखाले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै भर्त्सना गरेका छन्। उनीहरूले पत्रकारमाथिको यस्तो धम्कीले प्रेस स्वतन्त्रता तथा नागरिकको सूचनाको अधिकारमाथि चुनौती सिर्जना गरेको बताएका छन्।

घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पाल्पाले अनुसन्धान अघि बढाएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) भिमलाल भट्टराईले धम्की दिने व्यक्तिको पहिचान तथा खोजी कार्य जारी रहेको जानकारी दिनुभयो। उहाँले घटनालाई गम्भीरतापूर्वक लिइएको र आवश्यक अनुसन्धान भइरहेको बताउनुभयो।

यज्ञमूर्ति तिमिल्सिना

अन्य

भिडियो