INSEC Online

ठेउला रोग फैलिन थालेपछि विद्यालय बन्द

उन्मूलन भइसकेको मानिएको ठेउला (चिकेनपक्स) रोग पुनः फैलिन थालेपछि जुम्लाको चन्दननाथ नगरपालिकाले चार दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ। नगरपालिकाभित्रका जिएमडी, कर्णाली बोर्डिङ स्कुल, रत्नचुडेश्वर माध्यमिक विद्यालय लगायत विभिन्न विद्यालयका ४० जना विद्यार्थीमा ठेउलाको संक्रमण देखिएपछि असार १ गते बसेको बैठकले असार २ गतेदेखि ५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।

चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख क्षेत्रबहादुर महतका अनुसार जेठ २८ गतेदेखि विद्यार्थीहरूमा रोगको लक्षण देखिन थालेको हो। ‘एकबाट अर्को व्यक्तिमा सजिलै सर्ने सरुवा रोग भएकाले संक्रमण नियन्त्रणका लागि विद्यालय बन्द गर्नुपरेको हो,’ उहाँले भन्नुभयो, ‘लक्षण देखिएका विद्यार्थीलाई घरमै आइसोलेट गरेर राख्न र स्वास्थ्य निगरानी बढाउन आग्रह गरेका छौँ।’

उहाँका अनुसार नगरपालिकाका १० वटै वडामा रहेका स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य सेवा इकाइ मार्फत समुदायमा सचेतना कार्यक्रम सञ्चालन गर्नुका साथै संक्रमित विद्यार्थीहरूको निगरानी समेत थालिएको छ।

ठेउला  ‘भेरिसेला–जोस्टर’ भाइरसका कारण हुने अत्यन्त सङ्क्रामक रोग हो। यसको संक्रमण भएपछि हल्का ज्वरो आउने, शरीर दुख्ने, थकान महसुस हुने तथा शरीर, अनुहार र टाउकोमा चिलाउने रातो दाना देखिने लक्षण देखा पर्छन्। ती दाना केही समयपछि पानी भरिएका फोकामा परिणत हुने गर्छन्।

स्वास्थ्यकर्मीका अनुसार संक्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्क, खोकी वा हाच्छ्युँमार्फत यो रोग सजिलै सर्न सक्छ। त्यसैले संक्रमितलाई अलग्गै राख्न, फोका नकोट्याउन, सरसफाइमा विशेष ध्यान दिन र चिकित्सकको सल्लाहअनुसार उपचार गर्न आवश्यक हुन्छ। पर्याप्त झोलिलो पदार्थ सेवन र आरामले पनि रोग निको हुन सहयोग पुर्‍याउँछ।

स्वास्थ्य शाखाले अभिभावकलाई बालबालिकामा यस्ता लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न र विद्यालय नपठाउन आग्रह गरेको छ। साथै, रोगबाट बच्नका लागि उपलब्ध भ्याक्सिन लगाउन समेत सुझाव दिएको छ।

मानदत्त रावल

अन्य

भिडियो