INSEC Online

रेबिज खोप अभावले जाजरकोटका नागरिक मारमा

जाजरकोटमा रेबिजविरुद्धको खोप अभाव भएपछि कुकुर तथा अन्य जनावरले टोकेका नागरिक उपचार सेवाबाट वञ्चित भएका छन् । स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा खोप सकिएपछि खोप लगाउन आउने सेवाग्राही रित्तो हात फर्किन बाध्य भएका छन् ।

कर्णाली प्रदेश सरकारले आवश्यक खोप उपलब्ध नगराउँदा समस्या उत्पन्न भएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । गाउँका स्वास्थ्य चौकीहरूमा खोप नपाएपछि नागरिक जाजरकोट अस्पताल पुग्ने गरेका छन् । तर त्यहाँ पनि खोप अभाव भएपछि उनीहरू सुर्खेत, नेपालगञ्ज तथा रुकुम पश्चिमको चौरजहारी अस्पताल धाउन बाध्य भएका छन् ।

१५ शैयाबाट ५० शैया स्तरोन्नति गरिएको जाजरकोट अस्पतालमा सामान्य रेबिज खोपसमेत उपलब्ध नहुँदा सेवाग्राही निराश बनेका छन् । जिल्लाका सातवटै स्थानीय तहका नागरिक प्रभावित भएका छन् । भेरी नगरपालिका–११ का केशवप्रसाद शर्माले अत्याधुनिक अस्पताल निर्माण भए पनि आधारभूत स्वास्थ्य सेवा नपाउँदा नागरिकले सास्ती भोग्नुपरेको बताउनु भयो । उहाँका अनुसार खोप अभावका कारण सामान्य उपचारका लागि समेत जिल्लाबाहिर जानुपर्ने अवस्था सिर्जना भएको छ ।

एक साताअघि भेरी नगरपालिका–९ बन्नीगाउँका १३ वर्षीय दिनेश विकको कुकुरले टोकेपछि मृत्यु भएको घटनापछि जिल्लावासीमा त्रास बढेको छ । त्यसपछि रेबिजविरुद्धको खोप लगाउन अस्पताल पुग्नेको संख्या बढे पनि खोप अभावका कारण धेरै नागरिक निराश बनेर फर्किनुपरेको छ ।

भेरी नगरपालिका–११ कटिगाउँका अमर विकले सरकारी अस्पतालमा निःशुल्क उपलब्ध हुनुपर्ने खोपका लागि निजी खर्च गरेर अन्य जिल्लामा जानुपरेको गुनासो गर्नुभयो । उहाँले गरिब, दलित तथा विपन्न समुदायका नागरिक सबैभन्दा बढी प्रभावित भएको बताउनु भयो ।

त्यस्तै, भेरी नगरपालिका–११ का रमेशप्रसाद शर्माले रेबिज संक्रमणको जोखिमबारे जनचेतना बढ्दै गए पनि आवश्यक खोप उपलब्ध नहुँदा नागरिक थप चिन्तित बनेको बताउनु भयो । ‘निःशुल्क खोप पाइन्छ भन्ने आशामा अस्पताल पुग्यौँ, तर खोप नभएको जानकारी पाएपछि चौरजहारी अस्पतालमा शुल्क तिरेर लगाउनुपर्‍यो,’उहाँले भन्नुभयो ।

स्वास्थ्य सेवा कार्यालय जाजरकोटका सूचना अधिकारी कृष्णबहादुर खत्रीले आगामी आर्थिक वर्षदेखि रेबिजविरुद्धको खोप व्यवस्थापनको जिम्मेवारी स्थानीय तहलाई हस्तान्तरण गरिने भएकाले प्रदेश सरकारले हाल खोप उपलब्ध नगराएको बताउनु भयो ।

यद्यपि, सरोकारवालाहरूले स्थानीय तहलाई जिम्मेवारी हस्तान्तरणको बहाना बनाएर तत्काल आवश्यक खोप व्यवस्थापन नगर्नु गैरजिम्मेवार कदम भएको बताएका छन् । उनीहरूले नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले रेबिजविरुद्धको खोप तत्काल उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेका छन् ।

 बासुदेव शर्मा

अन्य

भिडियो