ताँजाकोट गाउँपालिका–३ स्थित दुर्गम मासपुर गाउँमा बर्थिङ सेन्टर सञ्चालनमा नआउँदा गर्भवती महिलाहरू अझै पनि घरमै सुत्केरी हुन बाध्य भएका छन् । स्वास्थ्य पूर्वाधार निर्माण भए पनि सञ्चालन अनुमति नपाउँदा संस्थागत सुत्केरीको लक्ष्य कागजमै सीमित बनेको छ ।
मासपुर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा ०७४ सालमै सिप नेपाल र ट्रस नेपालको साझेदारीमा बर्थिङ सेन्टर स्थापना गरिएको थियो । सेन्टरका लागि आवश्यक बेड, औषधि तथा उपकरण उपलब्ध गराइनुका साथै अनमीसमेत खटाइएको थियो । तर सरकारी स्वीकृति नपाउँदा सेवा सञ्चालन हुन नसकेको स्थानीयको गुनासो छ ।
२६ घरधुरी रहेको मासपुर गाउँका बासिन्दासँगै बाजुराको बौडी गाउँका नागरिकले पनि यही स्वास्थ्य केन्द्रबाट सेवा लिने गर्छन् । तर कार्यालय सहयोगीसहित तीन जनाको दरबन्दी रहे पनि अधिकांश समय एक जना स्वास्थ्यकर्मीले मात्रै सेवा दिइरहेको स्थानीय बताउँछन् ।
स्थानीय धनरुपा भण्डारीका अनुसार बर्थिङ सेन्टर सञ्चालन नहुँदा गर्भवती महिलाले जोखिमपूर्ण अवस्थामा घरमै सुत्केरी गराउनुपरेको छ । ‘घरमै हुने सुत्केरीलाई शून्यमा झार्ने अभियान चलाइए पनि हाम्रो गाउँमा त्यो सम्भव भएको छैन,’उहाँले भन्नुभयो ।
स्वास्थ्य सेवा केन्द्रका प्रमुख पदम बुढाले गर्भवती महिलाका लागि सामान्य रक्तचाप परीक्षण, आइरन चक्की वितरण र नियमित खोप सेवा मात्र उपलब्ध रहेको बताउनु भयो। ‘गर्भवती महिलाले कम्तीमा आठ पटक गर्भ जाँच गराउनुपर्ने व्यवस्था छ । तर यहाँ सीमित सेवा मात्रै दिन सकिरहेका छौँ,’ उहाँले भन्नुभयो ।
उहाँका अनुसार चालु आर्थिक वर्षमा गाउँका ६ जना महिला सुत्केरी भएका थिए । सबैले घरमै सुत्केरी गराएका थिए । आमा सुरक्षित रहे पनि एक नवजात शिशुको मृत्यु भएको उप्रमुख बुढाले बताउनु भयो ।
वडा अध्यक्ष राजेन्द्रबहादुर शाहीले पनि मासपुरमा अझै घरमै सुत्केरी हुने अवस्था रहेको स्वीकार गर्दै बर्थिङ सेन्टर सञ्चालनका लागि पहल भइरहेको बताउनु भयो । उक्त गाउँ गाउँपालिका केन्द्रबाट निकै टाढा भएकाले संस्थागत सुत्केरी बढाउन आवश्यक पूर्वाधार र जनशक्तिको व्यवस्था आवश्यक रहेको बताउनु भयो ।
स्थानीयका अनुसार बर्थिङ सेन्टरसँगै खटाइएकी अनमीसमेत नियमित रूपमा उपस्थित नहुने गरेकी छन् ।
मासपुरकी महिला स्वास्थ्य स्वयंसेविका धनरुपा भण्डारीले मासिक प्रतिवेदन बुझाउन र बैठकमा सहभागी हुन ठूलो सास्ती खेप्नुपरेको गुनासो गर्नुभयो ।
गाउँपालिकाको स्वास्थ्य शाखासम्म पुग्न एक दिन पैदल हिँड्नुपर्ने, यातायातको सुविधा नहुँदा अतिरिक्त खर्च बेहोर्नुपर्ने र एउटा बैठकमा सहभागी हुन तीन दिन समय खर्चिनुपर्ने बाध्यता रहेको उहाँले सुनाउनुभयो ।
स्वास्थ्य कार्यालय हुम्लाका प्रमुख डा. उमाकान्त तिवारीले ताँजाकोट गाउँपालिकामा घरमै सुत्केरी हुने संख्या जिल्लामै बढी रहेको स्वीकार गर्नुभयो । दुर्गम बस्तीमा स्वास्थ्य संस्थासम्म पहुँच कठिन भएकाले संस्थागत सुत्केरी बढाउन चुनौती रहेको उहाँको भनाइ छ ।
स्थानीय रामबहादुर बुढाले चेतनाको समस्या भन्दा पनि सेवाको अभाव भएको बताउनु भयो । नियमित सञ्चालन हुने बर्थिङ सेन्टर र आवश्यक स्वास्थ्यकर्मी चाहिएको उहाँको भनाई छ ।
दुर्गम बस्ती मासपुरमा स्वास्थ्य पूर्वाधार निर्माण भए पनि जनशक्ति, अनुमति र सेवा सञ्चालनको अभावले संस्थागत सुत्केरीको लक्ष्य बढाउन चुनौती थपिएको छ । स्थानीयवासीले बर्थिङ सेन्टर तत्काल सञ्चालनमा ल्याउन, स्वास्थ्यकर्मीको नियमित उपस्थितिको सुनिश्चितता गर्न र स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।