अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले गोदावरी नगरपालिका–४ गाइमारेस्थित अतिक्रमित क्षेत्र खाली गराउने बहानामा डिभिजन वन कार्यालय, कैलालीका कर्मचारीले स्थानीयको टेम्पो भीरमा खसालिदिएको घटनाको ०८३ असार १ गते स्थलगत अनुगमन गरेको छ ।
गोदावरी नगरपालिका–४ बासपानीकी ४४ वर्षीया धनादेवी धामी र पति घनश्याम धामीले खुद्रा व्यापारका लागि प्रयोग गरिएको सु.प.प्र ०१००१ ह ३१८० नम्बरको टेम्पो वन कार्यालयका कर्मचारीहरुले भीरमा खसालिरहेको र संरचनाहरु पनि भत्काइरहेको भिडियो सामाजिक सञ्जालमा व्यापक मात्रामा प्रसार भएपछि इन्सेक प्रदेश कार्यालय, धनगढीका प्रलेख अधिकृत कृष्णबहादुर विश्वकर्मा सम्मिलित टोलीले घटनाको स्थलगत अनुगमन गरेको हो ।

विगत ४० वर्षदेखि बसोबास गर्दै आइरहेका ४७ परिवारका घर र अस्थायी छाप्रा वन कार्यालय र स्थानीय प्रशासनले राजनीतिक पूर्वाग्रहीको कारण डोजर लगाएर भत्काइएपछि वर्षाको समयमा आफूहरुको बिचल्ली भएको स्थानीय नरेन्द्र धामीले इन्सेक अनुगमन टोलीसँग गुनासो गर्नु भयो ।
उहाँले भन्नुभयो– ‘४० वर्षदेखि बस्दै आइरहेको घर भत्कारउदा ४७ परिवारको बिचल्ली भएको छ । राजनीतिक पूर्वाग्रही राखेर वर्षायाममा बिना विकल्प घर भत्काइको हो । हामीलाई अन्याय भएको छ । वन अतिक्रमित गरेकाहरुको छानविन गरेर हटाउनु प¥यो । बिना सूचना स्थानीय सबैका घरहरु भत्काइएको छ । हामीले न्याय पाउनु पर्छ । बिना सूचना र छानविन नगरी गैरजिम्मेवारीपूर्ण तरिकाले हामीलाई घरबारविहीन बनाइएको छ । घटनामा संलग्नहरुलाई कारबाही गरिनु पर्छ र पीडितलाई उचित क्षतिपूर्ति र व्यवस्थापन गरिनु पर्छ ।’
वन कार्यालले सूचना नै नदिएर घर भत्काउदा ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवती, बिरामी भएका व्यक्ति र बालबालिका बढी जोखिममा रहेकाले घटनामा संलग्नहरुलाई कारबाही गरी आफूहरुको व्यवस्थापन गर्नु पर्ने स्थानीय शेरबहादुर घर्तिमगरले अनुगमन टोलीसँग बताउनु भयो ।

जिपिकोपार्जनको एक मात्रै साधनका रुपमा रहेको टेम्पो वन कार्यालयका कर्मचारीहरुले जेठ २९ गते भीरमा फालिदिएपछि क्षतिपूर्ति पाउनु पर्ने मागराखि असार १ गते इलाका प्रहरी कार्यालय, मालाखेतीमा निवेदन दिएको रेम्पो मालिक धामीले बताउनु भयो ।
घरखर्च चलाउनका लागि पहिलेदेखि त्यस ठाउँमा व्यापार गर्दै आइरहेको अवस्थामा वन कार्यालयका कर्मचारीहरु अतिक्रमित क्षेत्र हटाउन आउदा आफूले उपरान्त त्यस क्षेत्रमा व्यापार नगर्ने र टेम्पो घर लैजान्छु भनेर अनुरोध गर्दा समेत वन कार्यालयका कर्मचारीहरुले टेम्पो भीरबाट खसालिदिएको उहाँको आरोप छ ।
गोदावरी नगरपालिका–४ बासपानीमा बिगत १५ वर्षदेखि स्थानीयहरुले सडक क्षेत्र र वन क्षेत्र अतिक्रमण गरी छाप्रा हालेर व्यापार गर्दै आइरहेकोले यस भन्दा अगाडिदेखि नै डिभिजन वन कार्यालयले सो क्षेत्र खाली गराउने प्रयास गरिहेको र यसपटक पनि अतिक्रमति क्षेत्र हटाउन खोजेको गोदावरी नगरपालिका—४ का वडाध्यक्ष हेमप्रकाश मल्लले इन्सेकको अनुगमन टोलीलाई जानकारी गराउनु भयो ।

वन अतिक्रमण गरी बसोबास गर्दै आएकाहरुलाई जिल्ला प्रशासन कार्यालय, कैलालीको निर्देशनमा सो क्षेत्र खाली गर्न सूचना जारी गरेको भएता पनि अतिक्रमित क्षेत्र खाली नगरेपछि जेठ २९ गते जिल्ला प्रशासन कार्यालयको निर्देशनमा अतिक्रमण क्षेत्र खाली गर्ने क्रममा सडक छेउमा राखिएको टेम्पो पन्छयाउन खोज्दा भीरबाट तल खसेको डिभिजन वन कार्यालय, कैलालीका वन अधिकृत रामविचारी ठाकुरले बताउनु भयो ।
उक्त टेम्पो एक महिना अघि पनि हटाइएको र सवारी बोक्ने चालु अवस्थाको टेम्पो नभइ कवाड भइसकेको टेम्पोलाई भीमदत्त राजमार्ग अन्तर्गत गाइमारे डाँडास्थित सडक छेउमा टेम्पोमा चिया, अण्डा, चाउचाउ, पानीलगायतका सामान राखेर पसल चलाउँदै आएको अवस्थामा अतिक्रमति क्षेत्रबाट टेम्पो हटाइएको वन अधिृकत ठाकुरले इन्सेक अनुगमन टोलीलाई बताउनु भयो ।

पीडित पक्षले असार १ गते डिभिजन वन कार्यालय, कैलालीका वरिष्ठ वन अधिकृत कृष्णबहादुर बोहरा र जमदार चेतराज फूलारा विरुद्ध सार्वजनिक शान्ति विरुद्धको किटानी जाहेरी दिएपछि घटनाको थप अनुसन्धान भइरहेको र गिरफ्तार गरिएका अन्य १० जनालाई असार १ गते नै रिहा गरिएको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी योगेन्द्र तिमिल्सिनाले बताउनु भयो ।
घटनाको सत्यतथ्य छानबिन गर्न सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले असार १ गते प्रदेश वन निर्देशनालयको संयोकत्वमा पाँच सदस्यीय समिति समेत गठन गरेको छ । उक्त समितिमा प्रदेश वन निर्देशनालयका निर्देशक डा.हेमराज विष्ट संयोजक रहने गरी सदस्यमा जिल्ला प्रशासन कार्यालय, कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, डिभिजन वन कार्यालय, पहलमानपुरका वन अधिकृत जनक पाध्य, यातायात व्यवस्था कार्यालयका प्रविधिक इन्जीनियर धोजराज जोशी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका कानुन अधिकृत विजयराज ओझा सदस्य रहने गरी सात दिन भित्र प्रतिवेदन पेश गर्ने गरी समिति गठन गरिएको छ ।
अनुगमन टोलीले घटनास्थलको अवलोकन, घटनाका पीडित व्यक्तिहरु, गोदावरी नगरपालिका वडा नम्बर ४ का अध्यक्ष, डिभिजन वन कार्यालय, कैलालीका प्रमुख, जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी, छानविन समितिका सदस्य र घटनाका प्रत्येक्षदर्शीहरुसँग भेटघाट तथा सम्पर्क गरी सूचना संकलन गरेको थियो ।



