INSEC Online

हावाहुरीले विद्यालयको छानो उडाएपछि पठनपाठन प्रभावित

अदानचुली गाउँपालिका–४ लौठीस्थित ज्ञानोदय माध्यमिक विद्यालयको भवनमा हावाहुरीका कारण क्षति पुगेपछि पठनपाठन प्रभावित भएको छ।

यहि जेठ २१ गते आएको तीव्र हावाहुरीले विद्यालयको दुई कोठे भवनको जस्तापाताको छानो उडाएपछि विद्यालयमा नियमित पठनपाठन सञ्चालन गर्न कठिनाइ भएको हो। विद्यालयका प्रधानाध्यापक विष्णुलाल जैसीका अनुसार हावाहुरीले भवनको छानो उचालेर भवनको माथिल्लो भागमा पल्टाइदिएको छ, जसका कारण कक्षाकोठा प्रयोग गर्न नसकिने अवस्थामा पुगेका छन्।

भवनमा क्षति पुगेपछि जेठ २२ गतेदेखि विद्यार्थीहरूलाई खुला चौरमा राखेर पढाउनुपर्ने बाध्यता रहेको प्रधानाध्यापक जैसीले बताउनु भयो। उहाँका अनुसार वर्षायाम सुरु भइसकेकाले छानोविहीन भवनमा पठनपाठन सञ्चालन गर्दा जोखिम बढिरहेको छ ।

विद्यालय भवनको छानो उडाउदा करिब २ सयभन्दा बढी विद्यार्थी प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। हाल उनीहरू खुला आकाशमुनि अध्ययन गर्न बाध्य छन्। स्थानीयवासी तथा अभिभावकहरूले विद्यालयको भौतिक संरचनामा भएको क्षतिप्रति चिन्ता व्यक्त गर्दै तत्काल मर्मतको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। दुर्गम क्षेत्रमा रहेको विद्यालयको भवन समयमै मर्मत नभए विद्यार्थीको शैक्षिक गतिविधि लामो समयसम्म प्रभावित हुने उनीहरूको भनाइ छ।

प्रधानाध्यापक जैसीका अनुसार विद्यालय भवनमा भएको क्षतिको यकिन विवरण संकलन गर्ने कार्य भइरहेको छ। विद्यालय व्यवस्थापन समिति तथा स्थानीय सरोकारवालाहरूले आवश्यक बजेट र प्राविधिक सहयोग उपलब्ध गराई भवनको छानो तत्काल मर्मत गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

अभिभावकहरूले विद्यार्थीको भविष्यसँग जोडिएको विषय भएकाले विद्यालय भवनको मर्मत कार्यलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। वर्षायाममा खुला स्थानमा कक्षा सञ्चालन गर्न सम्भव नहुने भएकाले समयमै भवन मर्मत गरी सुरक्षित र सहज वातावरणमा अध्ययनको व्यवस्था मिलाउन उनीहरूले आग्रह गरेका छन्। यस विषयमा विभिन्न सरोकारवाला निकायलाई जानकारी गराउने काम भइरहेको र क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनःनिर्माणका लागि पहल थालिएको प्रधानाध्यापक जैसीले जानकारी दिनुभयो।

नन्द सिंह

अन्य

भिडियो