बैजनाथ गाउँपालिका–६ स्थित ईश्वरी माध्यमिक विद्यालयको अतिक्रमित जग्गा खाली गराउने क्रममा प्रहरी हवल्दारमाथि जेठ २८ गते धारिलो हतियार प्रहार गरेको आरोपमा एक महिलालाई प्रहरीले गिरफ्तार गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार विद्यालयको जग्गा लामो समयदेखि अतिक्रमण गरी बसोबास गर्दै आएकी स्थानीय सावित्रीकुमारी शाहीलाई पूर्व सूचना दिँदा पनि जग्गा खाली नगरेपछि अतिक्रमण हटाउन प्रहरी टोली खटिएको थियो। सोही क्रममा शाहीले प्रहरी टोलीमा रहेका प्रहरी हवल्दार सुनिल चौधरीमाथि धारिलो हतियार प्रहार गरेको आरोप छ।
घटनामा प्रहरी हवल्दार चौधरीको दायाँ काँधको पछाडिको भागमा सामान्य चोट लागेको बताइएको छ। उपचारपछि उनी पुनः प्रहरी टोलीसँगै फर्किएको बैजनाथ गाउँपालिका–६ का वडाध्यक्ष भूपाल पुन मगरले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार हवल्दार चौधरीको अवस्था सामान्य रहेको छ। “घाउ गहिरो छैन, सामान्य निलडाम मात्र देखिएको छ,” उनले भने। घटनामा संलग्न महिलालाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यता गिरफ्तार गरिएकी शाहीले भने अतिक्रमित जग्गाबाट हटाउने क्रममा सामान्य विवाद भएको र आफूलाई घरभित्रै आएर आक्रमण गर्न खोजिएपछि आत्मरक्षाका लागि प्रतिरोध गरेको दाबी गरेकी छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।