१४ वर्षीया बालिकालाई ०८२ माघ १८ गते यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत, मोरङले विराटनगर महानगरपालिका–८ हाटखोलाका ३० वर्षीय अजयकुमार यादवलाई दुई महिना कैद सजायको फैसला सुनाएको छ ।
जिल्ला अदालतका न्यायाधीश चित्रकुमार गुरुङको ०८३ जेठ २८ गतेको इजलासले कसुर गरेको ठहर गर्दै दुई महिना कैद, १० हजार रूपियाँ जरिबाना र पीडितले पाउने गरी कसुरदारबाट १० हजार रूपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताउनु भयो ।
बालिकालाई ०८२ माघ १८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले यादवविरूद्ध माघ १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा प्रहरीले यादवलाई माघ २० गते गिरफ्तार गरी जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा ०८२ फागुन ५ गते यौन दुर्व्यवहार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालतका न्यायाधीश परमेश पोखरेलको ०८२ फागुन ८ गतेको इजलासले ७५ हजार रूपियाँ धरौटी माग गरेको थियो । आरोपित यादव सोहीदिन धरौटी बुझाएर रिहा भएका थिए ।
जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरूङको ०८३ जेठ ६ गतेको इजालासले कसुर ठहर गर्दै दुई महिना कैदसँगै जरिबाना र क्षतिपूर्तिको फैसला गरेको अदालतका सूचना अधिकारी बुढाथोकीले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा ०८२ माघ १९ गते गरिएको थियो ।