नेकपा विप्लवले आह्वान गरेको बन्दका कारण कर्णाली प्रदेशका जिल्लाको जनजीवन सामान्य प्रभावित भएको इन्सेक प्रतिनिधिहरूले जनाएका छन् ।
मुगु जिल्ला प्रतिनिधि जीवन सेजुवालका अनुसार नेपाल कम्युनिष्ट पाटीको बन्दका कारण जिल्लाका सामुदायिक विद्यालयहरूमा संचालित बार्षिक परीक्षा प्रभावित भएको छ ।
दैलेख जिल्ला प्रतिनिधि अमर सुनारका अनुसार बन्दको कारण दैलेखको जनजीवन प्रभावित भएको छ । झण्डै एक साता अघिदेखि सामाजिक सञ्जालमा प्रचार भएको कारण विद्यालय र सार्वजनिक यातायात बन्द गर्ने अघिल्लो दिन नै निश्चित गरिएको थियो ।
ठाटीकाँध गाउँपालिका-५ ठिमुरेस्थित वडा कार्यालय नजिक गएराति नेकपाले राँके जुलुस गरेको कारण आज वडा कार्यालय खोल्न नसकिएको कार्यवाहक वडाध्यक्ष सगुन बिकले बताइन् । बन्दका कारण जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको देखिए पनि बैंक, शैक्षिक संस्था तथा यातायात र बजार बन्द रहेका थिए ।
सरकारले विप्लव माओवादीका गतिविधि माथि प्रतिबन्द लगाए यता जिल्लामा सुरक्षा गस्ती कडा गर्न थालिएको छ ।