मधेस आन्दोलनका सहिद परिवार तथा घाइते परिवारहरू शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टीको माग गर्दै मधेस आन्दोलनका सहिद तथा घाइते परिवार आन्दोलित भएका छन् । उनीहरुले ०८३ जेठ २५ र २६ गते जनकपुरधामस्थित मधेस प्रदेश मन्त्रिपरिषद्को कार्यालय तथा गृह, सञ्चार तथा कानुन मन्त्रालय रहेको प्रदेश भवनको प्रवेशद्वारमै बसेर शान्तिपूर्ण आन्दोलन गरेका हुन्।
धर्नामा सहभागीहरूले मधेस आन्दोलनका क्रममा सहिद भएका व्यक्तिका परिवार तथा घाइतेहरूको शिक्षा, स्वास्थ्य, रोजगारी तथा सामाजिक सुरक्षाको अधिकार अझै सुनिश्चित हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउँदै उनीहरूले आफूहरूका लागि आवश्यक कानुनी व्यवस्था तथा राज्यको दायित्व कार्यान्वयन नभएको गुनासो गरेका छन्।
रुपेश पासमानले आन्दोलनका बेला आफ्नो खुट्टामा गोली लागेको स्मरण गर्दै मधेस आन्दोलनकै बलिदान र संघर्षका कारण मधेस प्रदेश स्थापना भएको बताए। उनले सहिद तथा घाइतेहरूको योगदानबाट प्राप्त उपलब्धिलाई राज्यले बिर्सिएको आरोप लगाउँदै घाइते तथा सहिद परिवारलाई सम्मान र संरक्षणको आवश्यकता रहेको बताए।
सहिद परिवारकी शकुन्तला ठाकुरले मधेस आन्दोलनका क्रममा आफ्ना पति गुमाएको भन्दै सरकारले अहिलेसम्म आफूहरूलाई प्रभावकारी सेवा–सुविधा उपलब्ध गराउन नसकेको बताइन्। उनले एकल महिलाको रूपमा परिवार धान्न कठिनाइ भइरहेको र छोराछोरीको शिक्षा, स्वास्थ्य तथा भविष्यप्रति राज्य गम्भीर हुनुपर्ने आवश्यकता रहेको बताइन्।
मधेस सहिद प्रतिष्ठानकी सदस्य अनीता कुमारी यादवले सहिद परिवार र घाइतेहरूको सम्मान तथा अधिकार सुनिश्चित गर्ने उद्देश्यले गठन गरिएको प्रतिष्ठानलाई कानुनी आधारसहित स्वायत्त बनाउनुपर्ने आवश्यक र सहिद परिवारका बालबालिकाको शिक्षा, स्वास्थ्य तथा परिवारको जीविकोपार्जनको दायित्वप्रति राज्य संवेदनशील हुनुपर्ने बताइन्।
मधेस सहिद प्रतिष्ठानका सदस्य अवधेश पटेलले मधेस आन्दोलनका सहिदहरूको बलिदानबाट संघीयता र मधेस प्रदेशको स्थापना सम्भव भएको उल्लेख गर्दै सहिद तथा घाइते परिवारका लागि आवश्यक ऐन, नियम र नीतिहरू निर्माणमा भइरहेको ढिलाइप्रति असन्तुष्टि व्यक्त गरे। उनले सहिद परिवार तथा घाइतेहरूको सम्मान, सामाजिक सुरक्षा तथा रोजगारीको सुनिश्चितता राज्यको दायित्व भएको बताए।

घाइते संघर्ष समितिका अध्यक्ष चन्देश्वर साहले मधेस आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूले लामो समयदेखि उपचार, पुनर्स्थापना तथा जीविकोपार्जनको समस्या भोग्दै आएको उल्लेख गर्दै उनीहरूका लागि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने माग गरे। प्रदर्शनका क्रममा सहभागीहरूले “सहिद परिवार तथा घाइतेलाई सम्मान गरौँ, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गरौँ”, “मधेसी सहिद प्रतिष्ठानको ऐन–कानुन बनाई प्रतिष्ठानलाई स्वायत्त गरौँ”, “मधेसी सहिद परिवार तथा घाइतेको भरणपोषण भत्ता लागू गरौँ”, “वीर सहिद अमर रहून्” तथा “जय मधेस, जय मधेस, जय मधेस” लगायतका नाराहरू लगाएका थिए।
प्रदर्शनमा मधेस शहीद प्रतिष्ठानका सदस्य अवधेश पटेल र अनीता कुमारी यादव, घाइते संघर्ष समितिका अध्यक्ष चन्देश्वर साह, सहिद परिवारका प्रतिनिधि शम्भु प्रसाद साह र शकुन्तला ठाकुर लगायतको सहभागिता रहेको थियो।
विरोध सभामा बोल्ने वक्ताहरूले मधेस आन्दोलनका क्रममा जीवन गुमाएका सहिद र घाइतेहरूको योगदानको सम्मानस्वरूप उनीहरूका परिवारको शिक्षा, स्वास्थ्य, रोजगारी, उपचार तथा सामाजिक सुरक्षाको अधिकार सुनिश्चित गर्न आवश्यक ऐन, नियम तथा नीतिहरू तत्काल निर्माण र कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्।
उनीहरूले मधेसी सहिद प्रतिष्ठानसम्बन्धी ऐन निर्माण गरी प्रतिष्ठानलाई स्वायत्त बनाउन, सहिद परिवार तथा घाइतेहरूको भरणपोषण भत्ता लागू गर्न, गुणस्तरीय स्वास्थ्य उपचारको व्यवस्था गर्न, बालबालिकाको शिक्षाको ग्यारेन्टी गर्न तथा परिवारका सदस्यलाई रोजगारीको अवसर प्रदान गर्नुपर्ने माग गरेका छन्।