धनकौल गाउँपालिका–५ हरकठवाका ४३ वर्षीय फेकु दासलाई ०८३ जेठ २० गते इलाका प्रहरी कार्यालय हरकठवामा सोधपुछका लागी बोलाएर यातना दिँदै प्रहरी जवान रामजीवन पासवानले कुटपिट गरेको पीडितले आरोप लगाएका छन् । कुटपिटबाट बायाँ हात, तिघ्रा र पिठ्युँमा गम्भीर चोट लागी घाइते भएका दासको बरहथवा स्थित हनुमन्त हस्पिटलमा प्रारम्भिक उपचार गरिएपछि थप उपचारका लागि काठमाडौं स्थित राष्ट्रिय ट्रमा सेन्टरमा रेफर गरिएको पीडितका दाई इन्दल दासले जानकारी दिनुभयो ।

हरकठवास्थित साइनिङ स्टार बोर्डिङ स्कुलमा पीडित दासका दुई छोरा अध्ययरत छन् । सो विद्यालयको पीडितले १३ हजार ६ सय रुपियाँ शुल्क तिर्न बाँकी रहेको भन्दै विद्यालयका सञ्चालक संजय साहले जेठ १८ गते जिल्ला प्रशासन कार्यालय सर्लाही मलंगवामा निवेदन दिएका थिए । आवश्यक सोधपुछका लागि जिल्ला प्रशासन कार्यालयले इलाका प्रहरी कार्यालय हरकठवालाई पत्राचार गरेको थियो ।
कागजमा हस्ताक्षर गर्न भनिए पनि विद्यालयको सम्पूर्ण शुल्क पहिले नै तिरिसकेको दाबी गर्दै हस्ताक्षर गर्न अस्वीकार गरेका कारण ईलाका प्रहरी कार्यालय हरकठवा भित्रको कोठामा लगेर आरोपित पासवानले बाँसको भाटा र बुटले निर्घात कुटपिट गरेको पीडित फेकु दासले बताउनुभयो ।
प्रहरी जवान रामजीवन र दासबीच विवाद हुँदा प्रहरी माथि हातपात गर्न खोजेपछि बचाउमा लाठी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाही मलंगवाका एसपी रबिन्द्रनाथ पौडेलले जानकारी दिनुभयो । घटनाबारे डीएसपी वेद प्रसाद गौतमको नेतृत्वमा छानबिन समिति गठन गरी अनुसन्धान सुरु भएको एसपी पौडेलले बताउनुभयो ।