हेटौंडा बसपार्कबाट भारतको देहरादुन लैजान लागिएका २१ जना बालकको ०८३ जेठ २० गते उद्धार गरिएको छ । सिन्धुली, बारा, धादिङ र सर्लाही जिल्लाबाट ल्याइएका ती बालकलाई प्रहरीले उद्धार गरेको हो । जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार उद्धारपछि बालबालिकालाई अभिभावकको जिम्मा लगाएर घर फिर्ता पठाइएको छ ।
प्रहरीका अनुसार बालकहरूलाई भारतको देहरादुनस्थित एक गुम्बामा अध्ययनका लागि लैजान लागेको बताउने एक बौद्ध धार्मिक गुरुलाई सोधपुछ गरिएको थियो । आवश्यक अनुसन्धानका लागि बोलाएको बेला उपस्थित हुने सर्तमा उनलाई रिहा गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।