INSEC Online

📅 २०८३ जेष्ठ २१

स्टेचरको भरमा प्रसूति सेवा

राष्ट्रिय सडक सञ्जालसँग सबैभन्दा पछि जोडिएको जिल्ला हुम्लामा आज पनि बिरामी र सुत्केरी महिलाको उद्धार स्टेचरकै भरमा गर्नुपर्ने अवस्था छ। सडक विस्तार र पूर्वाधार विकासका दाबी भइरहे पनि दुर्गम बस्तीका नागरिकले आधारभूत स्वास्थ्य सेवामा सहज पहुँच पाउन सकेका छैनन्। ०८३ वैशाख ३१ गते  सिमकोट गाउँपालिका–४ की २२ वर्षीया तिनकली कामी बाटोमै सुत्केरी भएपछि प्रहरीले उद्धार गरी जिल्ला अस्पताल पुर्‍याएको थियो। समयमै प्रहरी परिचालन भएकाले आमा र नवजात शिशुको ज्यान जोगियो ।

बिहान करिब ५ बजे प्रसूति व्यथा लागेपछि उनी अस्पतालतर्फ हिँडेकी थिइन्। गाउँबाट जिल्ला अस्पताल पुग्न करिब ५५ मिनेट पैदल यात्रा गर्नुपर्ने बाध्यता छ। अस्पताल पुग्न नपाउँदै सिमकोट गाउँपालिका–५ को काठेचुली चोक नजिकै बाटोमै उनले शिशु जन्माएकी थिइन्।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय हुम्लाबाट प्रहरी निरीक्षक युवराज ढकालको नेतृत्वमा टोली खटिएको थियो। प्रहरी टोलीले सुत्केरी महिला र नवजात शिशुको उद्धार गरी जिल्ला अस्पताल सिमकोट पुर्‍याएको जिल्ला प्रहरी कार्यालयका डिएसपी शंकर खड्काले बताउनु भयो।

स्वास्थ्य सेवा कार्यालय हुम्लाका डाक्टर भिम बुढाका अनुसार यहाँका अधिकांश बिरामी र सुत्केरीलाई स्टेचरकै भरमा अस्पताल पुर्‍याउनुपर्छ ।

तिनकली मात्रै होइन हुम्लाको दुर्गम बस्तीमा बस्ने हजारौं महिलाले भोगिरहेको पीडा हो । ग्रामीण क्षेत्रमा स्तरीय प्रसूति सेवा, दक्ष जनशक्ति र यातायात सुविधाको अभावले गर्भवती महिलाहरू अझै जोखिमपूर्ण अवस्थामा बाँच्न बाध्य छन्।

स्वास्थ्यकर्मीका अनुसार धेरै महिलाले नियमित गर्भ परीक्षण नगर्ने, प्रसूति पूर्व तयारी नगर्ने र व्यथा लागेपछि मात्रै अस्पताल जाने प्रवृत्ति अझै कायम छ। आर्थिक अभाव, कठिन भौगोलिक अवस्था, सडक तथा यातायातको सीमित पहुँचले समस्या झन् जटिल बनाएको छ।

जिल्ला अस्पतालकी नर्सिङ इन्चार्ज सरिता बोहोराले स्वास्थ्य संस्थाको पहुँचसँगै परिवार र समुदायको चेतना पनि महत्वपूर्ण रहेको बताउनु भयो । उहाँका अनुसार जोखिमलाई सामान्य रूपमा लिने र समयमै स्वास्थ्य सेवा नलिने प्रवृत्तिले आमा र शिशुको स्वास्थ्यमा गम्भीर असर पार्ने गरेको छ।

चिकित्सक बिरेन्द्र शाहीले दुर्गम जिल्लामा सुरक्षित मातृत्व सेवा सुनिश्चित गर्न विशेषज्ञसहितको गुणस्तरीय स्वास्थ्य सेवा विस्तार आवश्यक रहेको बताउनु भयो। स्वास्थ्य सेवा पहुँचयोग्य, भरपर्दो र प्रभावकारी नबनाइए दुर्गमका महिलाहरुले सास्ती पाइरहने बताउनु भयो ।

हुम्लामा सडक पुगेको छ, तर सुरक्षित मातृत्व सेवा भने जोखिमपुर्ण नै छ । अहिले पनि धेरै गर्भवती महिलाहरुका लागि अस्पतालसम्मको बाटो जीवन र मृत्युबीचको संघर्ष बनेको छ।

नन्द सिंह

अन्य

भिडियो