प्रहरीको गोली प्रहारबाट घाइते भएकाहरूलाई राज्यले दिनुपर्ने क्षतिपूर्ति समयमा नदिएपछि २५ वर्षयता क्षतिपूर्ति नपाएको पीडित पक्षले गुनासो गरेको छ ।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले लाउडा विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै ०५८ जेठ १३ गते दिक्तेल बजारमा गरिएको मसाल जुलुस प्रदर्शनका क्रममा प्रहरीको गोली प्रहारबाट घाइते भएकाहरूलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने भएपनि सो क्षतिपूर्ति नपाएको पीडित पक्षको गुनासो छ ।
गोली काण्डको २५ वर्ष पुगेको सन्दर्भमा दिक्तेलमा ०८३ जेठ १३ गते आयोजित अन्तरक्रिया तथा पुनर्मिलन कार्यक्रममा घाइतेले राज्यले क्षतिपूर्ति नदिएको गुनासो गरेका हुन् ।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले लाउडा विमान खरिदमा अनियमितता गरेको भन्दै देशभर चलेको आन्दोलनका सिलसिलामा दिक्तेलमा प्रदर्शनका क्रममा प्रहरीको गोली प्रहारबाट चार जना घाइते भएका थिए ।
नेकपा एमालेलगायत ६ ओटा वाम घटकले ०५८ जेठ १३ गते दिक्तेल बजारमा मसाल जुलुस प्रदर्शन गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय नजिक जुलुसमाथि लाठी चार्ज र त्यसपछि गोली चलाउँदा केपिलासगढी गाउँपालिका–२ खार्तम्छाका आठ वर्षीय प्रताप राई, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका ११ वर्षीय विद्यामणि तामाङ, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका दिपनारायण रिजाल र सोल्माका दीपेन्द्र राई घाइते भएका थिए । उपचारकै क्रममा प्रताप राईको घटनाको चार वर्षपछि मृत्यु भएको थियो ।
प्रहरीको गोली प्रहारबाट दीपेन्द्र राईको देब्रे गोडाको घुँडापछाडि र दाहिने गोडाको पाइतालामा, रिजालको देब्रे गोडामा, विद्यामणि तामाङको देब्रे गोडामा र प्रताप राईको दाइने पाखुरामा गोली लागेको थियो । उनीहरूमध्ये विद्यामणि दिक्तेल इङ्लिस सेकेन्डरी बोर्डिङ स्कुलमा कक्षा ६ र आठ वर्षीय प्रताप उक्त स्कुलमै यूकेजीमा अध्ययन गर्थे ।
दिक्तेलमा ०८३ जेठ १३ गते आयोजित कार्यक्रममा घाइतेहरूले २५ वर्षसम्म पनि राज्यले बेवास्ता गरेको उल्लेख गर्दै राष्ट्रिय मानव अधिकार आयोगले सिफारिस गरेको क्षतिपूर्तिसमेत नपाएको गुनासो गरेका हुन् । राष्ट्रिय मानव अधिकार आयोगले ०७९ वैशाख ८ गते राज्यलाई दोषी ठहर्याउँदै उक्त घटनामा घाइते भएकाहरूलाई जनही १ लाख रुपियाँका दरले क्षतिपूर्ति दिन सिफारिस गरे पनि हालसम्म कार्यान्वयन नभएको घाइते दीपेन्द्र राईले बताउनु भयो ।