याङवरक गाउँपालिका–१ च्याङथापूमा बेमौसमी वर्षापछि गएको पहिरोका कारण बस्ती नै असुरक्षित भएपछि स्थानीयले च्याङथापू क्षेत्रलाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गर्न माग गरेका छन् ।
पहिरोका कारण २६ ओटा घर उच्च जोखिममा परेका छन् भने ७० ओटा घर जोखिम क्षेत्रमा रहेको याङवरक गाउँपालिका–१ वडाध्यक्ष राजेन्द्र खालिङले बताउनु भयो । पहिराले बस्तीले बगाउने जोखिम बढेपछि स्थानीयले च्याङथापू क्षेत्रलाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गर्न माग गरेको वडाध्यक्ष खालिङले बताउनु भयो ।
याङवरक गाउँपालिका–१ ठिङ्गेपुर कोप्चे, बिरुवा, पेरुङ्गे, चाम्लिङडाँडा, एकराते, खोलाघारी र सुन्दरपुर टोलमा पहिरोले असर पारेको छ । कतिपय घरमाथिबाट पहिरो झरेको छ भने केही घरमुनिबाट जमिन भासिएको वडाध्यक्ष खालिङले बताउनु भयो । याङवरक गाउँपालिका–१ चाम्लिङडाँडाका महमलाल खवास र कविरमान खवास तथा कोप्चेका गंगाराम बेघाको घर पहिरोले बगाइसकेको छ ।
पानी पर्नासाथ सुरक्षित स्थानतर्फ भाग्नुपर्ने अवस्था रहेको वडाध्यक्ष खालिङले बताउनु भयो । पहिरोले मानवीय क्षति नभए पनि पशुचौपाया बगाएको, खेतीयोग्य जमिन पुरिएको र अलैँची बगान नष्ट भएको छ ।
यसअघि ०८० असार ३ गते मेवाखोलासहित विभिन्न खोलामा आएको बाढीले बस्ती तहसनहस बनाएको थियो । त्यसबेलाको क्षति पुनः दोहोरिएको भन्दै स्थानीयले सरकारसँग तत्काल दीर्घकालीन समाधानको माग गरेका छन ।
जिल्ला समन्वय समितिका पूर्वसदस्य नरबहादुर गुरुङले अहिले प्रभावित क्षेत्रमा अत्यधिक त्रास फैलिएको बताउनु भयो । बाढीपहिरोले आठवटा सिँचाइ योजना, तीन वटा खानेपानी योजना र तीन वटा झोलुंगे पुलमा क्षति पुगेको छ । साथै, पुष्पलाल मध्यपहाडी राजमार्गको च्याङथापू खण्ड, फाक्लुङ–फालोट सडक, च्याङथापू–समरजुङ तथा च्याङथापू–लामपोखरी सडकमा क्षति पुगेको छ ।
याङवरक गाउँपालिकाकी उपाध्यक्ष बाबा मेन्याङ्बोले याङवरक गाउँपालिका–१, २ र ३ पहिरोले सबैभन्दा बढी क्षति पुर्याएको बताउनु भयो । तीन वर्षअघिको क्षतिग्रस्त संरचना पुनर्निर्माण नहुँदै ०८३ जेठ ८ गतेको बाढीपहिरोले विनाश दोहोरिएपछि स्थानीयले च्याङथापू क्षेत्रलाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गर्न माग गरेका छन ।