INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्ला अदालत परिसरमा झडप, प्रदर्शनकारी र प्रहरी घाइते

विशाल चन्द ठकुरी हत्या प्रकरणका एक आरोपितलाई धरौटीमा रिहा गरिएको विरोधमा जिल्ला अदालत नेपालगञ्ज, बाँकेको गेट अगाडि प्रदर्शनकारी र प्रहरीबीच ०८३ जेठ १३ गते झडप भयो । झडपमा दुई–तीन जना प्रदर्शनकारी र तीन जना प्रहरी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

पीडित पक्षले हत्या जस्तो गम्भीर अपराधका आरोपितलाई धरौटीमा रिहा गरिएको भन्दै अदालत परिसर बाहिर नाराबाजी र प्रदर्शन गरेका थिए। प्रदर्शन उग्र बनेपछि स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको थियो।

अम्बर सिंह ठकुरीको जाहेरीका आधारमा प्रहरीले कैलालीको लम्कीचुहा नगरपालिका–१ का रुपेशकुमार थापा, सुदीप खत्री, सुशील खत्री, बीबीएस कुँवर, दीपेन्द्रराज गिरी र खकेन्द्र देवकोटा गरी ६ जनालाई गिरफ्तार गरेको थियो। ०८३ वैशाख २१ गते आफ्नै साथीहरूको हातबाट निर्ममतापूर्वक हत्या गरिएका युवा बिशाल चन्दको घटनाको आरोपित बिरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसुरमा जेठ ११ गते जिल्ला अदालत बाँकेमा मुद्दा दर्ता गरिएको थियो।

जिल्ला अदालतले जेठ १३ गते गरेको प्रारम्भिक सुनुवाइपछि चार जनालाई पुर्पक्षका लागि थुनामा पठाउने, एक जना नाबालकलाई संरक्षकको जिम्मा लगाउने तथा २० वर्षीय रुपेशकुमार थापालाई १ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।

अदालतको उक्त आदेशप्रति असन्तुष्टि जनाउँदै पीडित पक्ष, आफन्त तथा समर्थकहरूले अदालत गेट अगाडि नाराबाजी गर्दै प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा केही व्यक्तिले अदालतको गेट हल्लाउने तथा तोडफोड गर्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको थियो।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक जीवराज थापाका अनुसार झडपमा दुई–तीन जना प्रदर्शनकारी र तीन जना प्रहरी सामान्य घाइते भएका छन्। प्रहरीले नियन्त्रणमा लिएका तीन जना प्रदर्शनकारीलाई सोही साँझ पीडित पक्ष र आफन्तको जिम्मा लगाएर छोडिएको उहाँले  जानकारी दिनुभयो।

घटनामा गम्भीर प्रकृतिको चोटपटक कसैलाई नलागेको र अवस्था सामान्य बनेपछि सबैलाई घर फर्काइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

ध्रुब्रराज शर्मा

अन्य

भिडियो