INSEC Online

📅 २०८३ जेष्ठ २१

यार्सा संकलनका कारण जिल्लाका ३१ विद्यालयलमा पठनपाठन प्रभावित

सरकारले देशभर विद्यालय भर्ना अभियान चलाइरहेका बेला जिल्लाका हिमाली भेगका ३१ ओटा विद्यालय भने यार्सा संकलनका कारण बन्द गरिएका छन् । विद्यार्थीदेखि शिक्षकसम्म लेकतिर उक्लिन थालेपछि सुर्मा र साइपाल गाउँपालिकाका विद्यालय ०८३ वैशाख २२गतेदेखि जेठ मसान्तसम्मका लागि बन्द गरिएको हो ।

सुर्मा गाउँपालिकाका २२ र साइपाल गाउँपालिकाका नौ विद्यालयमा पठनपाठन रोकिएको स्थानीय तहले जनाएको छ । सुर्मा गाउँपालिकाका शिक्षा शाखा प्रमुख कविन्द्र बोहराका अनुसार गाउँपालिका भित्रका सबै विद्यालय वैशाख २२ गतेदेखि जेठ मसान्तसम्म बन्द गरिएको छ ।

उहाँले भन्नुभयो,‘यो समयमा अधिकांश अभिभावक र विद्यार्थी यार्सा संकलनका लागि लेक जान्छन् । विद्यालय सञ्चालन गर्दा पनि विद्यार्थी उपस्थित नहुने भएकाले बिदा दिनुपरेको हो ।’

साइपाल गाउँपालिकाका शिक्षा शाखा प्रमुख खडक बुढाले पनि गाउँपालिका भित्रका सबै विद्यालय बन्द गरिएको भए पनि असारदेखि पुनः विद्यालय सञ्चालन गरिने बताउनु भयो । हिमाली भेगका स्थानीयका लागि यार्सा संकलन मुख्य आम्दानीको स्रोत बनेको छ । जसका कारण ७–८ वर्षका बालबालिकादेखि वृद्धवृद्धासम्म यतिबेला लेकतर्फ जाने गरेका छन् । विद्यार्थीसँगै शिक्षक समेत यार्सा संकलनका लागि लेक जानेभएका कारण विद्यालय बन्द गर्नु परेको शिक्षा शाखा प्रमुख बुढाले बताउनु भयो ।

काँडा माध्यमिक विद्यालयका शिक्षक उज्वल बोहराले विद्यालय बन्द भएपछि आफूहरू पनि लेक जाने तयारीमा रहेको बताउनु भयो । उहाँले भन्नुभयो,‘स्कुल बन्द भएका बेला घरमै बस्नु भन्दा लेकतिर गयो भने केही आम्दानी हुन्छ । अन्य स्थानीय तहबाट आएका धेरै शिक्षक पनि यही समयमा विद्यार्थीसँगै यार्साटिप्न जानुहुन्छ ।’अभिभावकसँगै विद्यार्थी पनि पाटन लेकतर्फ जाने भएकाले विद्यालय सञ्चालन गर्न नसकिएको उहाँले बताउनु भयो ।

हिमाली क्षेत्रका विद्यालय हरेक वर्ष यार्सा संकलन सिजनमा डेढदेखि दुई महिनासम्म बन्द हुने गरेका छन् । यस अवधिको बिदा बर्खे बिदासँग मिलान गर्ने गरिएको स्थानीय तहले जनाएको छ ।

सत्यराज सिंह

अन्य

भिडियो