बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा २०८३ जेठ ११ गते बस्ती हटाउने सूचना गराउन गएका वन अधिकृत २९ वर्षीय श्वेता झा, २८ वर्षीय रेन्जर सुमन श्रेष्ठ, सशस्त्र वन रक्षकका ५० वर्षीय जमदार औतार लामा, ४२ वर्षीय प्रेम भण्डारी र ४० वर्षीय शङ्कर कार्कीलाई स्थानीयले नियन्त्रणमा लिए । जेठ १२ गते स्थानीयले विरोध प्रर्दशन गर्दै डिभिजन वन कार्यालय महोत्तरीको बा २ झ २७४९ नम्बरको बोलेरो गाडीमा आगजनी गरेका थिए । आन्दोलनका कारण पूर्व–पश्चिम राजमार्ग तथा बीपी राजमार्ग दिनभर अवरुद्ध बन्यो ।
वडा अध्यक्ष विराट विष्टले बसोबासको सुनिश्चितता नभएसम्म आन्दोलन नरोकिने बताउनुभयो । सरकार र प्रशासनबाट बस्ती नउठाउने स्पष्ट प्रतिबद्धता नआएसम्म आन्दोलन जारी रहने उहाँले बताउनु भयो ।
स्थानीय युवा नेता गणेश बस्नेतले ५० वर्षदेखि बसोबास गर्दै आएको कालापानी वन क्षेत्र खाली गराउने तयारी थालेपछि स्थानीयवासी विरोधमा उत्रिएको बताउनुभयो। वैकल्पिक व्यवस्थाबिनै बस्ती हटाउन खोजिएको भन्दै यो अन्यायपूर्ण रहेको भन्नुभयो ।
स्थानीयले वार्तामार्फत समस्या समाधान गर्न सरकारसँग आग्रह गरेको र बसोबास गर्दै आएका नागरिकको आवास तथा जीविकोपार्जनको अधिकार सुनिश्चित गर्दै समस्या समाधानका लागि संवाद, सहमति र वैकल्पिक व्यवस्थालाई प्राथमिकता दिनुपर्ने बताए छन् ।
स्थिति तनावग्रस्त बनेपछि कालापानी क्षेत्रमा ठूलो संख्यामा नेपाल प्रहरी परिचालन गरिएको थियो । आन्दोलनकारी र सुरक्षाकर्मीबीच केहीबेर तनावपूर्ण अवस्था सिर्जना भनि हाल स्थिति नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी गुरुप्रसाद तिमल्सिनाले बताउनुभयो।