INSEC Online

📅 २०८३ जेष्ठ २१

राष्ट्रिय मानव अधिकार आयोग तथा इन्सेकद्वारा प्रादेशिक अस्पताल जनकपुरधामको अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग तथा अनौपचारिक क्षेत्रसेवा केन्द्र (इन्सेक )को संयुक्त टोलीले प्रादेशिक अस्पताल जनकपुरधाममा सुत्केरी महिलाको मृत्यु तथा चिकित्सक आन्दोलन सम्बन्धी घटनाको ०८३ जेठ ११ गते स्थलगत अनुगमन गरेको छ।

जनकपुरधाम उपमहानगरपालिका–१२ की २७ वर्षीया अन्जिता देवी यादवको जेठ ४ गते शल्यक्रियाका क्रममा मृत्यु भएपछि चिकित्सकको लापरवाही भएको भन्दै मृतकका आफन्तले शल्यक्रियामा संलग्न चिकित्सकलाई कारबाहीको माग गरेका थिए । सो घटनामा अस्पताल प्रशासन र मृतकका परिवारबीच जेठ ७ गते छलफल भई घटनाको छानबिन गर्न समिति गठन गरेको थियो।

समितिले शल्यक्रियामा संलग्न चिकित्सक डा. धीरेन्द्रकुमार शाह र डा. श्रेया लक्ष्मी शाहलाई अस्थायी रूपमा निलम्बन गर्ने निर्णय गरेपछि त्यसको विरोधमा चिकित्सकहरूले जेठ ८ गते बिहानदेखि इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गरी आन्दोलन सुरु गरेका थिए। चिकित्सकहरूले छानबिन समितिले कानुनी आधारबिनै निलम्बनको निर्णय गरेको आरोप लगाएका हुन्।

आन्दोलनरत चिकित्सकहरूले मधेश प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य मन्त्रालय, नेपाल मेडिकल एसोसिएसन तथा जिल्ला प्रशासन कार्यालय धनुषामा  जेठ ८ गते ज्ञापनपत्र बुझाउँदै उक्त निर्णयप्रति असन्तुष्टि जनाएका थिए। मधेश प्रदेश सरकारका स्वास्थ्य मन्त्री जङ्गीलाल राय यादवको अध्यक्षतामा जेठ ९ गते उच्चस्तरीय छानबिन समिति समेत गठन गरिएको थियो।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जामुन सिंह तथा उपकुलपति डा. अङ्कुर शाहले चिकित्सकहरूले बिरामीलाई बचाउन पूर्ण प्रयास गरेको बताउनुभयो। मृतक महिलाले गर्भावस्थाको नौ महिनासम्म नियमित स्वास्थ्य परीक्षण नगराएको र अवस्था जटिल भएपछि मात्रै अस्पताल ल्याइको भन्दै अस्पताल र चिकित्सकमाथि एकतर्फी आरोप लगाइएको सिंहले बताउनु भयो । सिंहका अनुसार अस्पतालमा दैनिक १ हजारभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्। तर बिरामीको चापअनुसार चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको दरबन्दी पर्याप्त नरहेको उहाँले जानकारी दिनुभयो। साथै ओपिडी सेवा बन्द हुँदा उपचारका लागि आउने सेवाग्राहीहरू प्रभावित भएको र धेरै बिरामी निजी अस्पताल तथा क्लिनिकमा गएर महँगो शुल्क तिरेर उपचार गराउन बाध्य भएको बताउनुभयो।

अनुगमनका क्रममा राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालयका प्रमुख बुद्धनारायण सहनी, इन्सेक मधेश प्रदेश कार्यालयका संयोजक राजु पासमान, आयोगका मानव अधिकार अधिकृत किरण घिमिरे तथा इन्सेक  जिल्ला प्रतिनिधि सन्तोष यादवले पीडित पक्ष , सरोकारवाला तथा अन्य सेवागा्रहि सँग भेट गरी घटनाबारे जानकारी लिनुभयो ।

सन्तोष कुमार यादव

अन्य

भिडियो