सिरहामा एक दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई गिरफ्तार गरेको छ ।
नरहा गाउँपालिका—३ का ५५ वर्षीय पवित्रनारायण यादवलाई प्रहरीले ०८३ जेठ ९ गते नयाँ चोहर्वाबाट गिरफ्तार गरेको हो ।
यादवमाथि स्थानीय ६० वर्षीया फूलकुमारी मण्डललाई कुटपिट गरेको आरोप छ । गत वैशाख २७ गते अपराह्न आफ्नो भैँसी यादवको खेतमा पसेको निहुँमा मण्डलमाथि कुटपिट भएको प्रहरीले जनाएको छ ।
पीडित मण्डलले आफूमाथि अन्याय भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा अभद्र व्यवहारसम्बन्धी कसुरमा उजुरी दिएकी छन् । गिरफ्तार गरिएका यादवलाई हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिनुभयो ।