पाल्पा कारागारमा रहेका कैदीबन्दीमध्ये मानसिक तथा दीर्घरोगबाट पीडित बिरामीको संख्या उल्लेख्य रहेको पाइएको छ । कारागार प्रशासनका अनुसार हाल कारागारमा ६ जना पुरुष कैदीबन्दीले मानसिक रोगको नियमित औषधि सेवन गरिरहेका छन् भने उच्च रक्तचाप, मधुमेहलगायत दीर्घरोगबाट पीडित ६३ जना पुरुष र ७ जना महिला रहेका छन् ।
कारागारमा हाल कुल २ सय ३६ जना कैदी तथा थुनुवा रहेका छन् । ३ सय २५ जनाको क्षमता रहेको उक्त कारागारमा विभिन्न स्वास्थ्य समस्या भएका कैदीबन्दीको संख्या बढ्दै गएको प्रशासनले जनाएको छ । कारागारमा ३० जना पुरुष ज्येष्ठ नागरिकसमेत रहेका छन् ।
कारागारका सिनियर अहेव गणेश गैरेका अनुसार मानसिक रोगी तथा दीर्घरोगी कैदीबन्दीको नियमित स्वास्थ्य परीक्षण गरिने गरिएको छ । आवश्यकता अनुसार बिरामीलाई अस्पताल रिफर गर्ने व्यवस्था रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार एक जना पुरुष कैदी मृगौला फेल भई उपचाररत छन् ।
कारागारका जेलर भगवानभक्त अर्यालले कैदीबन्दीको स्वास्थ्य अवस्थालाई प्राथमिकतामा राख्दै हप्तामा दुई पटक स्वास्थ्य जाँच गरिने जानकारी दिनुभयो । थप उपचार आवश्यक परेका बिरामीलाई पाल्पा अस्पताल, युनाइटेड मिसन अस्पताल तथा लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि पठाइने गरिएको उहाँले बताउनुभयो ।
नियमित औषधि सेवन गर्नुपर्ने कैदीबन्दीलाई कारागार प्रशासनले आवश्यक औषधिको व्यवस्था गर्दै आएको छ । जटिल प्रकृतिका बिरामीलाई आवश्यकता अनुसार काठमाडौंस्थित अस्पतालमा समेत सिफारिस गर्ने गरिएको प्रशासनले जनाएको छ ।