INSEC Online

📅 २०८३ जेष्ठ २१

सर्लाहीका मानव अधिकार रक्षकहरुको अवस्था बारे मानव अधिकार आयोग र इन्सेकद्वारा अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेशद्वारा ०८३ जेठ ६ गते सर्लाहीका मानव अधिकार रक्षकहरुको अवस्थाका बारे अनुगमन गरेको छ ।

अनुगमनको क्रममा जिल्लास्थित मानव अधिकार रक्षक सञ्जालका सदस्यहरु, महिला मानव अधिकारकर्मी तथा पत्रकारहरुसँग भेट गरी मानव अधिकारको अवस्था र चुनौतीबारे छलफल गरिएको थियो।

महिला अधिकारकर्मी दिवानी घिमिरेले पीडितहरुलाई न्यायिक प्रक्रिया पहुँचका लागि निकै सकसको वातावरण रहेको भन्दै आरोपितहरुलाई संरक्षण र सुरक्षा दिने गरिएको बताउनु भयो । घटनामा विशेष गरी राजनीतिकरणको प्रभाव पर्ने गरेको कारण पीडितहरुले वर्षौसम्म पनि प्रहरी कार्यालयमा धाउदासम्म न्याय नपाएको बताउनुभयो ।

मानव अधिकार रक्षक सञ्जालका सदस्य एवं पत्रकार राधेश्याम कुशवाहाले आर्थिक अवस्था कमजोर भएका पीडितहरुसँग जाहेरी लेखाउन खर्च  अभावका कारण पीडित ह्रास हुने गरेको भन्नुभयो ।

सर्लाही जिल्ला सञ्जालका अध्यक्ष मुकेश कुमार मिश्रले पीडितको न्यायको पक्षमा पैरवी गर्ने क्रममा सरोकारवालाले मानव अधिकारकर्मीसँग दुर्व्यवहार गर्ने तथा धम्क्याउने गरेको भन्दै मानव अधिकारकर्मीको आफ्नै सुरक्षा चुनौती रहेकोले असहज वातावरणमा समन्वय गर्न अप्ठेरो भएको बताउनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रमुख बुधनारायण साहनीले पीडितको न्यायकन लागि सबैको सहकार्य आवश्यक भएको भन्दै आयोग पनि मानव अधिकारकर्मीसँग हरपल सँगै रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । इन्सेक मधेश प्रदेशका संयोजक राजु पासवानले जिल्लामा मानव अधिकारकर्मीहरुले आफू सुरक्षित रही पीडितहरुको गुनासो सुन्ने र सम्बन्धित सरोकारवालाहरुसँग समन्वय गरी आचारसंहिताको पालना गर्दै पीडितको न्यायका लागि पैरवी एवं वकालत गर्नुपर्ने बताउनु भयो।

बुधन साह

अन्य

भिडियो