निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घटनाको निष्पक्ष अनुसन्धानको माग गर्दै २३ दिनदेखि आमरण अनशनमा रहेकी बाँकेकी अधिकारकर्मी रूबी खान र सरकारका प्रतिनिधिबीच ०८३ जेठ ६ गते पाँच बुँदे सहमति भएको छ।
सहमतिसँगै खानले आफ्नो २३ औँ दिनको अनशन अन्त्य गरेकी छन्। उनलाई प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले पानी खुवाएर अनशन तोडाउनुभएको हो।

अधिकारकर्मी खानसँग निरन्तर वार्ता र सहजीकरणपछि गृह मन्त्रालयका सहसचिव र खानबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो। सहमतिपछि खानले सरकारका प्रतिनिधिप्रति तथा मानब अधिकारकर्मीहरुप्रति कृतज्ञता व्यक्त गरिन्।
सहमतिअनुसार जिल्ला प्रहरी कार्यालय, बाँकेमा २०७७ चैत २० गते दर्ता भएको निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा हालसम्म भएका अनुसन्धानको अध्ययन गरी यथाशीघ्र न्यायिक प्रक्रियामा अघि बढाइनेछ।
त्यस्तै, अनशनरत खानले उठाएका अन्य घटनाको अनुसन्धानका सम्बन्धमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट छानबिन गराइने र अनुसन्धानका क्रममा कमजोरी पाइएमा सम्बन्धित प्रहरी कर्मचारीमाथि प्रहरी नियमावलीबमोजिम कानुनी कारबाही गरिने प्रतिबद्धता सरकारले जनाएको छ। खानविरुद्ध जिल्ला प्रहरी कार्यालय, बाँकेमा दर्ता भएको ‘सार्वजनिक शान्ति विरुद्धको कसुर’ मुद्दा माथिको अनुसन्धानलाई पनि तत्काल टुङ्ग्याउन निर्देशन दिइने सहमति भएको छ।

उक्त मुद्दामा जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख प्रहरी उपरीक्षकलगायत कर्मचारीहरूको भूमिकाबारे नेपाल प्रहरी प्रधान कार्यालयले छानबिन गर्ने तथा कमजोरी पाइएमा कारबाही प्रक्रिया अघि बढाउने सहमति समेत भएको छ।
यसैगरी, निर्मला कुर्मीको न्यायका लागि आन्दोलनरत खान तथा अन्य महिला अधिकारकर्मीहरूको सुरक्षाका लागि बाँकेस्थित जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई आवश्यक निर्देशन दिने सहमति भएको छ।
बार्ता टोलीमा प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहाल, गृहमन्त्रालयका सहसचिब तथा प्रवक्ता आनन्द काफ्ले र अतिरिक्त प्रहरी महानिरीक्षक (AIG) शुशिल सिंह राठोर हुनुहुन्थ्यो । साथै वार्तामा इन्सेक लुम्बिनी प्रदेशका संयोजक भोला महत र एड्भोकेसी फोरम लुम्बिनी प्रदेशका संयोजक बसन्त गौतमले सहाजिकरण गर्नु भएको थियो ।
रोहवरमा हस्ताक्षर गर्नेहरूमा भोला महत, बसन्त गौतम, महिला अधिकार मञ्चका प्रवक्ता मोहम्मद शेर बागवान, अध्यक्ष मन कुमारी गुरताल तथा सदस्य गीता रैदास रहेका छन्।
