INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकद्वारा डोटी जिल्ला कारागारको अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको टोलीले ०८३ जेठ ५ गते जिल्ला कारागार, डोटीको अनुगमन गरेको छ ।

इन्सेक सुदूरपश्चिम प्रदेशका संयोजक खडकराज जोशीको नेतृत्वको टोलीले जिल्ला कारागार, डोटीका नाइके, चौकिदार र कारागार प्रशासनसँग प्रत्यक्ष भेटघाट गरी कारागारको वर्तमान अवस्था, जनशक्ति, कैदीबन्दीहरूको सङ्ख्या, सुरक्षा व्यवस्था तथा कैदीबन्दीहरूले भोगिरहेका समस्याका बारेमा जानकारी लिएको थियो ।

 अनुगमनका क्रममा जिल्ला कारागार डोटीका निमित्त कारागार प्रमुख प्रदीप ओझाले २५ जनाको क्षमता रहेको जिल्ला कारागार, डोटीमा हाल ७८ जना कैदीबन्दी रहेको र जसमध्ये ५५ जना पुरुष र चार जना महिला कैदी, १९ जना पुरुष र चार जना महिला थुनुवा र एक जना आश्रित बालिका रहेको बताउनु भयो ।

क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दी राख्नुपरेको कारण व्यवस्थापनमा चुनौती थपिएको, कारागारका अधिकांश संरचना पुराना भएकाले बसोबासमा असहजता भएको र ठाउँ अभावका कारण कैदीबन्दीहरूले कोचाकोच गरेर सुत्नुपर्ने बाध्यता रहेको निमित्त कारागार प्रमुख ओझाले बताउनु भयो ।

कारागारभित्र रहेका नाइके जयराज बडुले राज्यबाट उपलब्ध गराइने सुविधा समान रूपमा वितरण गरिएको बताउँदै सीमित स्रोतसाधनका बाबजुद खेलकुद सामग्री, विभिन्न सीपमूलक तालिम, स्वास्थ्य उपचार, पुस्तकालय, शौचालय तथा खानेपानीको सुविधा उपलब्ध रहेको बताउनु भयो ।

कारागारका चौकिदार उदयराज भट्टले सरकारले कैदीबन्दीका लागि प्रतिदिन उपलब्ध गराउँदै आएको ८० रुपियाँ सिदा रकम हालको महँगी अनुसार पर्याप्त नभएको उल्लेख गर्दै उक्त रकम वृद्धि गर्न आवश्यक रहेको बताउनु भयो ।

कारागार सुरक्षा प्रमुख सई नन्दराज बडुले कारागारको सुरक्षा अवस्थामा कुनै समस्या नभएको बताउँदै कारागार प्रशासन र सुरक्षाकर्मीबीच राम्रो समन्वय भएकाले सुरक्षा व्यवस्था थप प्रभावकारी बनेको बताउनु भयो ।

अनुगमनको क्रममा इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले कारागारलाई केवल सजाय दिने थलोका रूपमा नभई सुधार गृहका रूपमा विकास गर्नु पर्ने आवश्यकता औंल्याउनु भयो । कैदीबन्दीहरूको समस्या समाधानका लागि इन्सेकले बिगत लामो समयदेखि बहस पैरवी गर्दै आएको र अहिले पनि कारागार सुधारका लागि सम्बन्धित निकायहरुलाई दबाबमूलक कार्यहरु गर्दै आएको उहाँले बताउनु भयो ।

अनुगमन टोलीमा इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशी, प्रलेख अधिकृत कृष्णबहादुर विश्वकर्मा तथा इन्सेक डोटी प्रतिनिधि सुबास नेपालीको सहभागिता रहेको थियो । सोही क्रममा जिल्ला कारागार, डोटीका निमित्त कारागार प्रमुख ओझालाई इन्सेकका प्रदेश संयोजक जोशीले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ हस्तान्तरण समेत गर्नुभएको थियो ।

सुबास नेपाली

अन्य

भिडियो