कालिका गाउँपालिका–१ राम्चेमा निर्माणाधीन राम्चे स्वास्थ्यचौकी भवन निर्माणको काम अधुरै छाडेर निर्माणको जिम्मा पाएको कम्पनी सम्पर्क विहीन भएपछि गुणस्तरीय स्वास्थ्य सेवा पाउनबाट सेवाग्राही वञ्चित भएका छन् ।
सम्झौता अनुसार समयमा भवन निर्माण नभएपछि गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा समस्या परेको छ । चार वर्षदेखि निर्माणको जिम्मा पाएको ओमबुद्ध इन्टरनेशनल कन्ट्रक्सन प्रा.लि. सम्पर्क विहीन हुन पुगेपछि निर्धारित समयमा भवन निर्माण नहुँदा आधारभूत स्वास्थ्य सेवा पाउनबाट सेवाग्राही समस्यामा परेका हुन् । सम्झौता गरेर काम थालेपनि दुई वर्षदेखि काम अधुरो छाडेर सम्पर्कमा नआएको स्थानीय बताउँछन् ।

‘निर्माण व्यवसायी चार वर्षदेखि सम्पर्कमा छैनन् । भवन निर्माण अधुरो छाडेको लामो समय भयो ।’ स्वास्थ्यचौकीका अहेव रामप्रसाद ढकालले भन्नुभयो ।
०७७ सालमा निर्माण सुरू गरिएको भवन निर्माण नहुँदा प्रसूति सेवा तथा अन्य स्वास्थ्य जाँच सेवा पाउन निकै समस्या परेको स्थानीय राम तामाङ बताउछन् । विगतदेखि नै पटकपटक प्रमुख जिल्ला अधिकारी समक्ष समेत गुनासो गरेको कालिका गाउँपालिका–१ का वडाध्यक्ष दावा तामाङले बताए । ‘धेरै ठाउँमा काम थालेकाले सबैतिर काम अलपत्र छ । ठेकेदार सम्पर्कमा नआएको वर्षौ बित्यो ।’–वडाध्यक्ष तामाङले भन्नुभयो ।
चारवर्षदेखि निर्माण थालेको राम्चे स्वास्थ्यचौकी भवन समयमा काम नगर्ने र अलपत्र छाड्ने कम्पनीलाई गाउँपालिकाले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ बमोजिम उक्त ठेकेदार कम्पनीसँग गरिएको भवन निर्माणसम्बन्धी ठेक्का रद्द गर्ने, कालोसूचीमा र नियमानुसार कारबाही प्रक्रियाअघि बढाउनुपर्ने सरोकारवालाहहरूको माग छ ।
स्वास्थ्यचौकी भवन अलपत्र भएकोले सेवाग्राहीलाई दैनिक उपचार सेवा दिन निकै कठिनाइ भएको राम्चे स्वास्थ्यचौकी प्रमुख सविना माझीले बताइन् ।