INSEC Online

📅 २०८३ जेष्ठ २१

महिलाहरुमाथि कुटपिट गरेको आरोपमा नौ जना  गिरफ्तार

राप्तीसोनारी गाउँपालिका–३ नवलपुरकी ५५ वर्षीया विसमति थारु, ४५ वर्षीया गौरी थारु, ६५ वर्षीया मंगरी थारु, ५५ वर्षीया रामकलिया थारु तथा बैसा गाउँकी ४५ वर्षीया श्यामकुमारी थारुलाई ०८३ जेठ १ गते राप्तीसोनारी गाउँपालिका–३ अन्तर्गत रहेको हरियाली सामुदायिक वन र भूवर भवानी सामुदायिक वन क्षेत्रमा बाख्रा चराउन गएको अवस्थामा कुटपिट गरेको आरोपमा नेपालगञ्ज उपमहानगरपालिका–२० निवासी २६ वर्षीय सुभाष लोनिया, २४ वर्षीय रामलाल लोनिया तथा भारतको उत्तर प्रदेश बहराइच घर भएका २५ वर्षीय त्रिलोकी केवट, १९ वर्षीय रिन केवट, २० वर्षीय अंकुर केवट, २६ वर्षीय गुड्डु केवट, २९ वर्षीय नन्कु केवट, १८ वर्षीय रामेश्वर केवट र २८ वर्षीय बद्री केवटलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको छ ।

आरोपितहरुको कुटपिटबाट घाइते भएका सबै महिलाको टाउकोमा गम्भीर चोट लागेको छ । रामकलिया थारुको बाँया खुट्टा भाँचिएको छ भने विसमति थारुको दुवै हात भाँचिएको छ । घाइतेहरूलाई प्रारम्भिक उपचारपछि राप्तीसोनारी अस्पतालबाट नेपालगञ्जस्थित सञ्जिवनी अस्पतालमा थप उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार श्यामकुमारी थारु गाउँमा पुगेर घटनाबारे जानकारी गराएपछि स्थानीयवासी, जनप्रतिनिधि तथा विभिन्न सुरक्षा निकायको संयुक्त टोलीले खोजी कार्य तीव्र बनाएको थियो । घटनालगत्तै इलाका प्रहरी कार्यालय कोहलपुर, प्रहरी चौकी अगैया, इलाका प्रहरी कार्यालय धामपुर, प्रहरी कार्यालय कुसुम बैरिया, इलाका प्रहरी कार्यालय भोजभगवानपुर तथा सशस्त्र प्रहरी बलको बीओपी महेशपुरबाट समेत सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी डीएसपी दीपक पातलीले घटनामा संलग्न ९ जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् । प्रहरीले घटनासम्बन्धी अन्य व्यक्तिको संलग्नता भए नभएको विषयमा समेत अनुसन्धान जारी रहेको जनाएको छ ।

ध्रुबराज शर्मा

अन्य

भिडियो