INSEC Online

📅 २०८३ जेष्ठ २१

जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु, दुई जना गम्भीर बिरामी

इच्छाकामना गाउँपालिका–१ कुलबाङकी ६ वर्षीया नमुना चेपाङको जङ्गली च्याउ खाँदा ०८३ जेठ १ गते बिहान घरमै मृत्यु भएको छ । उनी हात्तीबाङस्थित राष्ट्रिय माध्यमिक विध्यालयमा कक्षा २ मा अध्ययनरत थिइन् । च्याउ खाएरै सजन चेपाङ र मनिता चेपाङसमेत गम्भीर बिरामी परेका छन् । उनीहरूलाई उपचारका लागि भरतपुर अस्पतालमा ल्याइएको छ । उनीहरू तिनै जना एकै परिवारका हुन् ।  सजन हात्तीबाङ स्कुलमा कक्षा ३ र मनिता कक्षा ५ मा अध्ययनरत छन् । गत मङ्गलबार च्याउ खाएका उनीहरू बिरामी हुँदा पनि घरमै थिए । जेठ १ गते बिहान नमूनाको मृत्यु भएपछि मात्रै गाउँलेहरूले घटनाबारे थाहा पाएका थिए । त्यसपछि बिरामी परेका सजन र मनितालाई गाउँलेहरु मिलेर अस्पताल ल्याइएको हात्तीबाङ स्कुलका प्रधानाध्यापक लोकबहादुर मगरले जानकारी दिनुभयो ।

बिरामी परेकामध्ये १२ वर्षकी मनिता चेपाङको गम्भीर अवस्थामा भरतपुर अस्पतालमा उपचारमा उपचार भइरहेको छ । अस्पतालका वरिष्ठ फिजिसियन एवं सहायक मेसु डा. प्रमोद पौडेलले मनिताको अवस्था गम्भीर रहेकाले भेन्टिलेटरमा राखेर उपचार गर्न लागिएको जानकारी दिनुभयो । मङ्गलबार बुबा श्यामबहादुर र आमा पदममाया चेपाङसँगै तीन जना बच्चाले पनि च्याउ खाएका थिए ।

वडाध्यक्ष सन्तबहादुर मगरले एक जनाको मृत्यु भएपछि अरु दुई जनालाई हतारहतार अस्पताल पठाइएको बताउनुभयो । अस्पतालले घरमै रहेका बुबाआमालाई पनि अस्पताल ल्याउन भनेको छ । ठूलो मान्छेलाई पछि लक्षण देखापर्ने भएकाले बुबाआमालाई ल्याउन लागिएको हात्तीबाङ स्कुलका प्रधानाध्यापक लोकबहादुर मगरले जानकारी दिनुभयो । डा. प्रमोद पौडेलका अनुसार जङ्गली च्याउमा एमेनिटा भन्ने बिष हुन्छ । यसले कलेजोमा असर गर्छ र केलेजो फेल हुने समस्या हुन्छ । विस्तारै दिमागमा असर गर्ने, बेहोस हुने, मिर्गौलामा पनि असर गर्ने हुँदा बिरामीको मृत्यु हुने गरेको छ ।

रासस

अन्य

भिडियो