INSEC Online

📅 २०८३ जेष्ठ २२

हत्या घटनाका मुख्य आरोपित गिरफ्तार : गोली लागी घाइते

काठमाडौँको कीर्तिपुर नगरपालिका–१० पोडेटोलमा ०८३ वैशाख २३ गते गुल्मीको धुर्कोट गाउँपालिका–७ घर भई कीर्तिपुर नगरपालिका–३ ढाल्पा बस्दै आएका २२ वर्षिय विपिन घिमिरेमाथि धारिलो हतियार प्रहार गरि हत्या गरेको आरोपमा कालिकोट खाडाँच्रक नगरपालिका–६ घर भइ बस्ने हाल किर्तिपुर बस्ने २० वर्षिय सुजन शाहीलाई प्रहरीले ०८३ वैशाख ३१ गते गोली प्रहार गरी गिरफ्तार गरेको छ ।

गम्भीर घाइते पीडित घिमिरेलाई उद्धार गरेर कीर्तिपुर अस्पताल लगिएकोमा चिकित्सकले उनलाई सोहिदिन मृत घोषणा गरेका थिए । शवको पोष्टमार्टम बैशाख २७ गते त्रिवि शिक्षण अस्पतालमा गरि परिवारजनले सोहिदिन सद्गत गरेको प्रहरी जवान दिलिप साउदले बताउनु भयो ।

घटनाका मुख्य आरोपित शाहीलाई गिरफ्तार गर्ने क्रममा काठमाडौंको चोभार क्षेत्रमाप्रहरीले गोली चलाउँदा आरोपितको खुट्टामा गोली लागी घाइते भएका छन् । उनको उपचारका लागि बल्खुस्थित वयोधा अस्पताल पठाइएकोमा थप उपचारका लागि ट्रमा सेन्टर पठाइएको थियो । घाइतेको अतिरिक्त उपचारका लागि आरोपितलाई ०८३ जेठ १ गते त्रिवि शिक्षण अस्पताल पठाइएको ट्रमा सेन्टरका सुचना अधिकारी शिव कुमार निरौलाले जानकारी दिनु भयो ।

उक्त घटनामा संलग्न भएको आरोपमा यसअघि प्रहरी वृत्त कीर्तिपुरको टोलीले अछामको साँफेबगर नगरपालिका–४ घर भई कीर्तिपुर नगरपालिका–९ भाजंगल बस्ने २५ वर्षीय महेन्द्र शाह, कैलालीको बर्दगोरिया गाउँपालिका–४ घर भई कीर्तिपुर पाँगा दोबाटो बस्ने २३ वर्षीय रवीन्द्र धामी र कैलालीकै घोडाघोडी नगरपालिका–१ घर भई कीर्तिपुर नगरपालिका–८ सिनेमा हल बस्ने २२ वर्षीय रोशन बिष्टलाई ०८३ बैशाख २३ गते गिरफ्तार गरेको थियो ।

अनमोल पन्त

अन्य

भिडियो