कमला नगरपालिका– ४ सघाराकी ७२ वर्षीया ज्येष्ठ नागरिक ०८३ वैशाख २९ गते सामाजिक सुरक्षा भत्ता लिन बैंकभित्रै लाइनमै बेहोस हुनुभयो । कमला नगरपालिकामा सामाजिक सुरक्षा भत्ता लिन एनआइसी एसिया बैंक पुगेकी ज्येष्ठ नागरिक अव्यवस्थित लाइन र चर्को घामका कारण बेहोस हुनु भएको हो । पीडित महिलाले आफ्नो नाम सार्वजनिक गर्न चाहनु भएन ।
एनआइसी एसिया बैंक जनकपुर शाखाका प्रमुख हेमन्त शर्माका अनुसार बढी चाप भएको कारणले गर्दा महिलाको बेग्लै र पुरुषको बेग्लै हुने गरी दुईवटा काउन्टर थपिएको भएतापनि चाप बढी भएको कारणले व्यवस्थित रूपमा ज्येष्ठ नागरिकहरूले वृद्धभत्ता पाउने वातावरण मिलाउने नसकेको बताउनुभयो।

वडा नम्बर ४ का वडाध्यक्ष दीपक गोहीवारका अनुसार पालिकाभरिमा एउटै मात्र बैंक शाखा भएको कारणले गर्दा सेवाग्राहीको चाप अत्यधिक बढेको हो । घाम र भिडकै कारण ती वृद्ध महिला बेहोस भएर लाइनमै लडेको भन्दै वृद्धाको स्थानीय स्वास्थ्य चौकीमै सामान्य उपचार भएको उहाँले बताउनु भयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. सर्वन शाहले सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई व्यवस्थित बनाउने भन्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
ज्येष्ठ नागरिकहरूका लागि राज्यले प्रदान गर्ने सेवा–सुविधा सहज, सुरक्षित र मर्यादित ढंगले वितरण गरिनुपर्छ । तर, स्थानीय सरकार र सम्बन्धित बैंकको फितलो व्यवस्थापन तथा आधारभूत सुविधाहरु पिउने पानी, बस्ने उचित व्यवस्था नहुँदा ज्येष्ठ नागरिकहरूले घण्टौँसम्म चर्को घाममा सास्ती खेप्नु परिरहेको छ ।शारीरिक रूपमा अशक्त र आश्रित अवस्थाका ज्येष्ठ नागरिकहरूलाई प्राथमिकतामा राखि सेवा प्रदायक निकायले यसतर्फ ध्यान पु¥याउन आवश्यक छ ।