झिसमिसे बिहान भालेको डाकोसँगै नदीले थुपारेर राखेको ढुङ्गा आआफ्नो ठाउँमा सङ्कलनमा व्यस्त देखिन्छन् । महिला तथा बालबालिकाहरू राति खोलामा आएका ढुङ्गा ओसारपसार गर्न प्रतिस्पर्धा झैँ हुन्छ । नालाबालासहित चौलानी नदी किनारमा माछा खोजेजस्तै ढुङ्गा थुपार्नेको भीड सडकमा हिँड्ने जोकोहिले सजिलै देख्न सक्छन् ।
ढुङ्गा सङ्कलनपछि थुप्रोथुप्रोमा बालबालिका लगेर गिट्टी कुट्न सुरू हुन्छ । यो दृष्य एक दिनको मात्र होइन । शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरका वादीबस्तीमा बसोबास गर्ने समुदायको दैनिकी छाक टार्नको लागि भइरहेको गतिविधि हो ।
त्यही टोलमा बसोबास गर्छिन् २४ वर्षीया गौमा वादी । विवाह गरको सात वर्ष भयो । तीन ओटा छोरी छन् । कान्छी छोरी आठ महिनाकी भइन् । दुई वर्षकी छोरी कमला लिएर उनी बिहानै चौलानी नदी किनारमा गिट्टी कुट्दै थिइन् । उनकी जेठी छोरी रेनुका तीन वर्षकी भइन् ।
छोरी साथमै राखेर गिट्टी कुट्दै गरेकी गौमालाई बिहानको छाक टार्न गिट्टी कुट्नुपर्ने बाध्यता थियो । गिट्टी कुटेर विक्री पछि मात्रै त्यो टोलका अधिकांशको घरमा चुलो बल्छ । रोजगारी केहि छैन । दुधे बालक लिएर गिट्टी कुट्न टोलभरी महिला आउने गर्छन् । बिहान नदीले एकत्रित गरेको ढुङ्गा सङ्कलन गर्छन् । केहीले ढुङ्गा सङ्कलन र केहीले गिट्टी कुट्न थाल्छन् ।
१८ वर्षीया सीता दमाईको दैनिकी पनि त्यसरी नै चल्दैछ । डेढ वर्षको बच्चा भयो । बच्चालाई चाहिने स्तनपान त्यही गिट्टी कुट्ने ठाउँमै हुन्छ । टोलभरका दुधेबालक बोकेका महिला होउन अथवा बृद्ध महिलाहरू त्यही गिट्टी कुटेर गुजारा चलाउन बाध्य छन् । दृष्य अनौठो होइन ।
नदीबाट ढुङ्गा निकाल्दा निकाल्दै आधा जमीन गइसक्यो । गत वर्ष वादी बस्ती गोकुलेश्वर बजार जोगाउन तटबन्ध भयो । तर, त्यही तटबन्धमा काम गर्न समेत उनीहरूले पाएनन् । ‘गरिबलाई कसले हेर्छ र ?’–जनक रानाले भनिन् ।
‘काम नपाएर बेरोजगार छौँ । माछा मार्ने व्यवसाय हो खोलामा माछा छैन । घरका महिला बालबालिका गिट्टी बालुवा निकाल्छन् । पुरूषले मजदुरी गर्छौँ ।’–जनकले भने । गत वर्ष तटबन्ध निर्माणमा काम नपाएकोमा उनीहरूको दुखेसो छ ।
‘हाम्रो नाउँमा खाने धेरै आए । सबैले तपाईको उत्थान गर्छौ भन्छन् ।’–रानाले भने । हाम्रो अवस्था जहिँको त्यहिँ छ । रोजगारी छैन । बिहान खायो बेलुकीको चिन्ता छ । सुतेपछि बिहान चुल्होमा के बाल्ने भन्ने छ ।’–उनले भने ।
फोटो खिचेर लैजाने मान्छे पनि फिटिक्कै मन पर्दैन, त्यही टोलका कुमा वादीलाई । कसैले केही भन्छ, कसैले केहि आउँछन्, हाम्रो फोटो खिचेर जान्छन्, तर हाम्रो दैनिकी उस्तै छ । हामीहरूको दैनिकीको फोटो खिचेर आफु मटाउँदा हुन्, हाम्रो फोटो मात्र खिचेर हैरान भइसक्यौ । खान लाउनको चिन्ता छ हामीलाई अरूलाई आफ्नो जागिर कसरी पकाउने भन्ने उनले फोटो खिचेर जाने प्रति दुखेसो पोख्दै सुनाइन् ।
नदी किनारमा बिहानैदेखि गिट्टी कुट्ने लाटी हुडेकलाई आफ्नो वर्ष एकिन थाहा छैन । तर, उनी विगत ७–८ वर्षदेखि वृद्धभत्ता खान थालेकी छिन् । तर, वृद्ध भत्ताले मात्रै परिवारको हातमुख जोर्न नसकिएपछि गिट्टी कुट्ने काम गर्छिन् । पाँच नातिनी छन् । ‘छोरा बुहारी पाल्नको लागि गिट्टी कुट्छु ।’–उनले भनिन् । आफ्नो घर छैन, अर्काले दिएको खोला किनारमा आएर बसेका छौ । कुन दिन नदीले बगाउँछ थाहा हुँदैन ।
‘गिट्टी कुटेरै गुजारा चलाउने ३५ वर्षीया कुना वादीको पतिको मृत्यु भएको एक वर्ष बढी भयो । पतिको मत्युपछि तीन छोराछोरी पाल्नुपर्ने जिम्मेवारी उहाँमै थपिएको छ । गिट्टी कुटेर भएपनि छोराछोरी पढाउनु र दैनिक छाक टार्न काम गर्नुपर्छ ।’–उनले भनिन् ।
अहिले गिट्टी कुटेबापत प्रतिकठ्ठा ६० रुपियाँमा विक्री हुन्छ । छोरासँगै राखेर गिट्टी कुट्दै आएकी ३७ वर्षीया धाना रानाको कथा पनि फरक छैन । पति बितेको १० वर्ष भयो । पति बितेपछि घरको अवस्था नाजुक हुँदै गएको छ । दुई छोरा र दुई छोरीको पालन पोषण गर्नु कम्ता चुनौती छैन उनलाई ।
आर्थिक अभावकै कारण नियमित छोराछोरीलाई विद्यालय पठाउन सकिएको छैन् । गिट्टी बालुवा बोकेरै मात्रै गुजारा नभएपछि छोराछोरीलाई समेत माछा मार्ने र कभाड सङ्कलन गरी विक्री गर्ने काम गर्छन् । चमेलिया नदी किनारमा रहेका यी प्रतिनिधिमूलक पात्र हुन् । यस वादी समुदायको रोजगारीको अरू विकल्प छैन ।
विद्यालय जाँदैनन् बालबालिका
झण्डै ३०–३५ परिवार बसोबास रहेको गोकुलेश्वर बजारका वादी समुदायका अधिकांश बालबालिका नियमित विद्यालय जाँदैनन् । आर्थिक अभावका कारण आमा बुवासँगै काममा व्यस्त रहने भएको कारण उनीहरू नियमित विद्यालय जाँदैनन् ।
‘छोराछोरी नियमित विद्यालय पठाउनको लागि आर्थिक अवस्था छैन । बिहान बेलुकी गिट्टी नकुटे वा ढुङ्गा नबोके छाक टार्नै धौधौ छ । कसरी छोराछोरी विद्यालय पठाउनु ?’स्थानीय राधा दमाईले भनिन्–‘ विद्यालय भर्ना गरेका छौँ तर नियमित पठाउन सकिँदैन । विद्यालय जान कापी कलम किन्नै प¥यो । राम्रो लूगा र खान चाहियो । कसरी नियमित विद्यालय पठाउने ।
अढाइ वर्षअघि बुबा जगदीश दमाईको मृत्यु भएपछि बेसहारा बनेका जानकी दमाईका तीन जना छोराछोरी छन् । जेठो छोरा ११ वर्षीय नमराज कक्षा २, सात वर्षीय अजय कक्षा १ र तीन वर्षीया छोरी कलावती शिशु कक्षामा भर्ना भएका छन् । घरमा पैसा कमाउने आमा मात्रै छन् । ‘आफ्नो घर छैन ।’–जानकीले थपिन् । दैनिक छाक टार्न समस्या भइरहेको बेला जेठो छोरोले दिनभरी मजदुरी गर्नुपर्छ ।
गोकुलेश्वर माविका शिक्षक गणेशराज विष्टका अनुसार वादी समुदायका बालबालिका गरिबी कारण नियमित विद्यालयमा आउन नपाएको बताउँछन् । घरमा अभिभावक छैनन् भएपनि काममै व्यस्त हुन्छन् ।
बिहान के खाउँ दिउँसो के खाउँको अवस्थामा बालबालिकालाइ पनि काममै लैजाने गरेका कारण विद्यालय पढाई नियमित नभएको उनको भनाई छ । सरकारले बादी समुदायका बालबालिकालाई विद्यालयमा आकर्षण गर्न खाजाबापत प्रतिदिन १५ रुपियाँका दरले उपलब्ध गराउने गरेको भएपनि विद्याललय भने १०–१५ दिन पनि जाने गरेका छैनन् ।
सहाराबिहिन भन्दै बालबालिका
शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरका मनोज वादी, विमला वादी र हिमान्सु वादी दाजु बहिनी हुन् । उमेर तीनै जनाको १० कटेको छैन । उमेर अनुसार सक्दो काममा देखिन्छन् उनीहरू । झुत्रो कपडा लगाएर कोहि होटल साहुहरूको ससाना सामान ओसार्छन् । तीनै जना दाजु बहिनीको आमा बुबा छैनन् ।
अहिले अरूकै सहारामा दैनिकी गुजारा गरिरहेका छन् । बुवाको चार–पाँच वर्ष अघि मृत्यु भयो । आमा विवाह गरेर अर्कैकी गइन् । बेसहारा सहाराविहीन बनेका बालबालिकाहरू अहिले बिहान बेलुकाको छाक अर्कैको घरमा गुजार्दै आएका छन् ।
आमा बुबाको नाम थाहा छैन । कोहि मान्छे टोलमा पुग्यो कि झुमिन्न पुगिहाल्छन् । त्यही टोलमा बस्ने नमराज राना, अजय राना र खन्टी राना तीनै दाजुबहिनी हुन् । बुबाको मृत्यु भइसकेको छ । घरको सहारा आमा जानकी राना मात्रै छन् । सम्पत्तिको नाममा घर जमीन केही छैन ।
चमेलिया बगर क्षेत्रमा अर्काको घरमा भाडा बस्दै आएका राना परिवारको दैनिकी गुर्जानै धौधौ छ । बुवाको मृत्युपछि आमाले गिट्टी कुटेर, भारी बोकेर कमाएको पैसाले छोराछोरी पढाउन नसक्ने भए रानाले भन्नुभयो । छोराहरू सानै भए पनि भारी बोक्ने माछा मार्ने तथा साहुहरूको होटलमा काम गराउनुपर्ने बाध्यता छ ।
बुवा नभएपछि छोराछोरीको अवस्था नाजुक छ । यो टोलमा बस्ने अधिंकाशको आमा वा बुबाको मृत्यु भएको पाइन्छ । भएकाहरूले अर्कै विवाह गरेर अलग्गै बसेका छन् । जसको कारण टोलभरका वादीहरूका बालबालिका विचल्लीमा परेका छन् । टोलका अगुवा कुमा वादीले भनिन्–‘दिनभर काम गर्छन्, बिहानैदेखि ठेउका (मदिरा) खान्छन् । जसको कारण अकालमै मृत्युको बाटो समाउन पुगेका छन् ।’
सोही टोलका अर्जुन वादी आठ वर्षका भए । आमाको मृत्यु भयो । बुबा धनी वादीले अर्कै विवाह गरेर अन्तै गए । घरमा एक्ला रहेका अर्जुन अहिले मामा घरको सहारामा छन् । मावलीले हुर्काउने काम गर्दै आएका छन् । स्थानीय सबै यो टोलमा बस्नेलाई वादी भन्छन् । तर, त्यही टोलमा बस्ने राना, हुड्के समुदायलाई सरकारले वादीको जस्तो सुविधा र राहत समेत दिएको छैन ।
‘खुला नदी किनारमा बस्ने हाम्रो समुदायको अधिकांशको नाममा घर जमिन छैन ।’–अगुवा महिला किडी देवी वादीले भनिन्–‘जमीन भएपनि घर बनाउन पाएका छैनन् । वादी समुदायमा के कति सङ्ख्यामा बालबालिका छन् । कति परिवार छ भन्ने एकिन तथ्याङ्क कतैपनि छैन ।’
गोकुलेश्वरको चौलानी किनार र नक्तड क्षेत्रमा वादीको बसोबास छ । अहिलेसम्म वादी समुदायका अलग्गै तथ्याङ्क सङ्कलन नगरिएको शैल्यशिखर नगरपालिका–९ का वडाअध्यक्ष रामधनी विष्टले बताए । संविधानको भाग ३ मा मौलिक हक अन्तर्गत शिक्षासम्बन्धी हक धारा ३१, धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक, धारा ३६ मा खाद्यसम्बन्धी हक, धारा ३७ मा आवासको हक, धारा ३९ मा बालबालिकाको हकको व्यवस्था गरेको छ । यहि धारा अन्तर्गत उनीहरूलाई हेर्ने हो भने यस टोलका वस्तीका बालबालिकाहरू बढी प्रभावित छन् ।
गलैचा बुनाई तालिम सञ्चालनको तयारी
सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोगमा शैल्यशिखर नगरपालिका–९ का वादी समुदायको लागि गलैचा बुनाई तालिम सञ्चालनको तयारी गरिएको छ । घरेलु तथा साना उद्योग विकास समितिले १० जनालाई पहिलो चरणमा तालिम दिने गरी सूचना प्रकाशित गरेको हो । काम नपाएर बेरोजगार बस्दै आएका वादी समुदायका महिलालाई ४५ दिने गलैचा बुनाई तालिम सञ्चालन गरिने वरिष्ठ उद्योग अधिकृत पदमबहादुर ठकुरीले बताए । गलैचा बुनाइपछि महिलाहरूलाई आत्मनिर्भर बनाउन सजिलो हुने उनको भनाई छ ।