INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा पीडितलाई कानुनी प्रक्रियाका लागि इन्सेकको सहयोग

सुन्दरहरैँचा नगरपालिका–८ एकता टोलकी घरेलु हिंसा पीडित ४७ वर्षीया अम्बिका कार्कीलाई इन्सेकले कानुनी प्रक्रियाका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले ०८३ वैशाख २५ गते कानुनी प्रक्रियाका लागि ७ हजार ५ सय रुपियाँ आर्थिक सहयोगसँगै जिल्ला अदालतमा फिरादपत्र दर्ता गराएको छ ।

नाबालक ११ वर्षीय छोराको संरक्षक भई आफ्नो हकमा समेत घरेलु हिंसा पीडित अम्बिका कार्कीले पति पूर्णबहादुर न्यौपानेका विरुद्ध जिल्ला अदालतमा दिइएको उजुरी वैशाख २५ गते दर्ता गराइएको इन्सेक कोशी प्रदेश संयोजक मनोहर कुमार पोखरेलले बताउनु भयो ।

इन्सेक कोशी प्रदेश कार्यालयमा वडा कार्यालयको सिफारिससहित पीडितले निवेदन दिनु भएपछि पीडितको हकमा निशुल्क कानुनी सहायता उपलब्ध गराउन इन्सेकले जिल्ला अदालतमा निवेदन दिनुका साथै कानुनी उपचारका लागि आवश्यक पहल गरेको संयोजक पोखरेलले बताउनु भयो ।

घरेलु हिंसा पीडित कार्कीले ०५८ फागुन १५ गते पूर्णबहादुर न्यौपानेसँग सामाजिक परम्परा अनुसार विवाह गरेको बताउनु भयो । पति वैदेशिक रोजगारीमा गएपछि आफूसहित छोराहरूको शिक्षा, स्वास्थ्य, औषधोपचारमा वेवास्ता गरेकाले अंश चलन मुद्दा अदालतमा इन्सेकको सहयोगमार्फत दर्ता गराएको बताउनु भयो ।

इन्सेकद्वारा गठित मानव अधिकार रक्षक सञ्जालले घरेलु हिंसा पीडित महिलाहरूलाई न्यायमा पहुँचका लागि इन्सेकले कार्य गर्छ भन्ने सुनेका आधारमा सञ्जालका सदस्य तथा पत्रकार बाबुराम भण्डारीमार्फत पीडित इन्सेक कोशी प्रदेश कार्यालय आइपुग्नु भएको थियो ।

घरपरिवार र समाजका भद्र भलादमीबिच ०८३ वैशाख १० गते भएको छलफलमा पति पूर्णबहादुरले छोराहरूको पालन पोषण र पत्नीको पालन पोषण नगर्ने, अंश नदिने भनेपछि आफू इन्सेकसम्म आइपुगेको पीडितले बताउनु भयो ।

अंश चलन र घरेलु हिंसा शीर्षकमा जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि पीडितले न्याय पाउने आशा राख्नु भएको छ ।

विनोद सुवेदी

अन्य

भिडियो