शिवनाथ गाउँपालिका– ४ पिपलको माध्यमिक विद्यालयका प्रधानाध्यापक दामोदर ओझालाई मोसो र जुत्ताको माला लगाई अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले चार जनालाई ०८३ वैशाख २५ गते गिरफ्तार गरेको छ ।
स्थानीय महिलामाथि दुर्व्यवहार गरेको आरोपमा स्थानीयले प्रधानाध्यापक ओझामाथि दुर्व्यवहार गरेका थिए ।
प्रधानाध्यापक ओझामाथि मोसो र जुत्ताको माला लगाएको कुरा सामाजिक सञ्जालमा व्यापक भएपछि प्रहरीले घटनामा चासो देखाएको थियो । ओझामाथि मोसो दल्ने र जुत्ताको माला लगाउने कार्यमा संलग्न रहेको आरोपमा चार जनालाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, इन्सपेक्टर बल्देब बडुले बताउनुभयो ।
गिरफ्तार गरिएकाहरुमा ३८ वर्षीया तारा महता, ४२ वर्षीय उनका पती प्रेम महता, स्थानीय मोहन महता र शकुन्तला महता रहेको इन्सपेक्टर बडुले बताउनुभयो ।
चारै जनालाई इलाका प्रहरी कार्यालय मेलौलीबाट खटिएको टोलीले घरबाट गिरफ्तार गरेर हिसारतमा राखि अनुसन्धान सुरु गरिएको उहाँले बताउनुभयो ।
घटनामा संलग्नहरुलाई कानून बमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ । महताको परिवारले प्रधानाध्यापक ओझामाथि मोसो दल्दै जुत्ताको माला लगाएर सार्वजनिक रुपमा बेइज्जत गरेका थिए । उनीहरुले ओझाको घाँटीमा ‘म अपराधी हुँ’ भन्ने पम्प्लेट समेत लगाइदिएका थिए ।
वैशाख १२ गते महिलामाथि दुर्व्यवहार गरेको भन्दै वैशाख २४ गते महताको परिवारले ओझामाथि मोसो दल्नुका साथै जुत्ताको माला लगाएका थिए ।
पिपलकोट माविमा प्राथमिक तहको शिक्षक भर्नाको विषय यो घटनासँग जोडिएको छ । आफूमाथि प्रधानाध्यापकले दुर्व्यवहार गरेको आरोप लगाएकी महिला शिक्षकको परीक्षामा अनुत्तीर्ण भएपछि उक्त घटना भएको दाबी गरिएको छ ।
पिपलकोट माविमा एक जना प्राथमिक तहको शिक्षक भर्नाका लागि आवदेन आह्वान गरेकोमा १७ जनाले आवेदन दिएको र १४ जना परीक्षामा सहभागी भएका थिए । सहभागी मध्ये ती महिला पनि परीक्षामा सहभागी भएकी र अनुत्तीर्ण भएकी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत साउदले बताउनुभयो ।
परीक्षा हुनु अघि ती महिलाले प्रधानाध्यापक ओझासँग आर्थिक लेनदेनको विषय समेत राखेको तर आफूले परीक्षा निष्पक्ष हुनुपर्छ भनेको अध्यक्ष साउदले बताउनुभयो ।
शिक्षक भर्नाकै विषयसँग जोडिएर प्रधानाध्यापकमाथि मोसो दल्ने र जुत्ताको माला लगाउने काम भएको अध्यक्ष साउदको भनाइ छ ।
दुर्व्यवहार भएको भनिएकी महिलाका परिवारले भने महिलामाथि प्रधानाध्यापकले विद्यालयमै बोलाएर दुर्व्यवहार गरेपछि आक्रोशित आफन्तले मोसो दलेको दाबी गरेका छन् । प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान भइरहेको जनाएको छ । घटनाका विषयमा सवत्र चासो देखिएकाले यो घटनामा सूक्ष्म अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बडूले बताउनुभयो ।