सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले १५ वर्षीय बालकलाई १२ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश धनिश्वर पौडेलको ०८३ वैशाख १७ गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै १२ वर्ष ६ महिना कैद सजाय, १ लाख रुपियाँ क्षतिपूर्ति, ३ लाख ५० हजार रुपियाँ पीडित राहतकोषमा जम्मा गर्न लगाउने र पीडितको रितपूर्वक निवेदन आएमा क्षतिपूर्ति बापत ३ लाख ५० हजार रुपियाँ भराई दिने र १ हजार ४ सय रुपियाँ पीडित राहत कोषमा दाखिला गर्ने फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले जानकारी दिनुभयो ।
आरोपितले बालिकालाई ०८२ जेठ १४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ १७ गते इलाका प्रहरी कार्यालय,रुपन्देहीमा जवरजस्ती करणी सम्बन्धी कसुरमा उजुरी दिनुभएको थियो । प्रहरीले आरोपितलाई जेठ १७ गते घरबाटै गिरफ्तार गर्यो । पीडितको स्वास्थ्य परीक्षण जेठ १७ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भएको थियो ।