INSEC Online

📅 २०८३ जेष्ठ २१

मकवानपुरमा हावाहुरीले घरको छाना उढाएपछि २६ परिवार प्रभावित

हावाहुरी र पानीले मकवानपुरका विभिन्न स्थानमा ०८३ वैशाख २१ गते  ठूलो क्षति पुर्‍याएको छ । विशेषगरी मकवानपुरको कैलाश, राक्सिराङ र मकवानपुरगढी गाउँपालिकाका २६ परिवार प्रभावित बनेका छन् । हावाहुरीले घरका जस्तापाता र खरले छाएका छाना उडाइदिएपछि पीडित परिवार असुरक्षित छन् ।

घरको छाना नै उडाएपछि बसोबासमा समस्या भएको र फेरि पानी परिरहेकाले थप जोखिम बढेको स्थानीयले बताएका छन् । कतिपय परिवार अहिले पनि त्यही घरमा, गोठमा, छिमेकीको घरमा अस्थायी बसोबास गरिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार कैलाश गाउँपालिका–९ घैराङटारमा मात्रै नौ घरमा ठूलो क्षति पुगेको छ । बहादुर घलान, कालिमाया वाइबा, तिलकबहादुर घलान, विष्णुमाया लामा, मानबहादुर नेगी, रामहरी घलान, दिलबहादुर स्याङतान, भक्तबहादुर वाइबा र सुर्जबहादुर घलानका घर तथा गोठमा हावाहुरीले क्षति पुर्‍याएको हो । उक्त क्षेत्रमा मात्रै ११ लाख ६० हजार रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी मकवानपुरगढी गाउँपालिका–२ लेनडाँडाका मंगलसिंह तितुङको घरको जस्ता उडाएको छ । जसकारण १ लाख रुपियाँ बराबरको क्षति भएको छ ।

राक्सिराङ गाउँपालिका–९ खरीटोल, गैरीटोल र वडा नम्बर १ चिरघारी भञ्ज्याङमा गरी ९ परिवारका घरको छाना उडाएको छ । नरेन्द्र मल्ल ठकुरी, भोजविक्रम सिंह, सेरबहादुर प्रजा, उत्तरकुमार प्रजा, रञ्जित नेगी, सीता रुम्बा, राजकुमार मुक्तान लगायतका परिवार प्रभावित भएका छन् ।

यस्तै भीमफेदी, इन्द्रसरोवर लगायतका अन्य क्षेत्रमा पनि गोठ, विद्यालय र कुखुरा फार्ममा क्षति पुगेको छ । प्रहरीको विवरण अनुसार ती क्षेत्रमा मात्रै ६ लाख ४५ हजार रुपियाँ बराबरको क्षति भएको छ ।

हावाहुरीले घरको छाना उडाएपछि प्रभावित परिवारहरूले तत्काल छाना छाउने व्यवस्था मिलाउनका लागि सम्बन्धित निकायसँग माग गरेका छन् । प्रहरीका विभिन्न इकाईबाट टोली खटिएर क्षतिको विवरण संकलन गर्नुका साथै पीडितको अवस्थाबारे जानकारी लिइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

स्थानीय तहले राहत र पुनःस्थापनाको प्रक्रिया अगाडि बढाउने तयारी गरेको जनाए पनि प्रभावित परिवारले तत्काल सहयोगको अपेक्षा गरेका छन् । लगातार पानी परिरहेकाले उनीहरूको समस्या झन् जटिल बन्दै गएको छ ।

मञ्जिता मैनाली

अन्य

भिडियो