एकल महिलाहरूले विगतमा पाउँदै आएको एकल महिला सुरक्षाकोष अन्तर्गतको अनुदान रकम नआउँदा विशेषगरी हिंसा पीडितहरूलाई समस्या भएको उनीहरूले बताएका छन् ।
विगतमा महिला तथा बालबालिका कार्यालयमार्फत वितरण हुँदै आएको उक्त रकम सो कार्यालय खारेज भएसँगै गत साउनदेखि बन्द भएको छ ।
कोष अन्तर्गत पतिको मृत्यु भएका, पारपाचुके गरेका, विवाह नगरी बसेकालगायतका एकल महिलाका लागि शैक्षिक, स्वास्थ्य, स्वरोजगार तथा कानुनी सहायता शीर्षकमा महिलाहरूलाई अनुदान रकम दिइने गरेको थियो ।
कोषबाट प्राप्त गरेको रकमले धेरै एकल महिलाले बाख्रापालन, कुखुरा पालन, तरकारी खेती तथा व्यापार व्यवसाय सञ्चालन गरेर आयआर्जन गरिरहेका थिए ।
अहिले रकम दिने काम बन्द भएपछि सबैभन्दा बढी हिंसापीडित महिला प्रभावित भएको मानव अधिकारका लागि एकल महिला समूह इलामकी अध्यक्ष दिपा आचार्यले बताइन् ।
‘पहिला दिइएको रकमले धेरैले व्यवसाय गरेर आयआर्जन गरिरहेका छन् । तर, अहिले रकम बन्द भएपछि घरेलुहिंसामा परेका पीडित महिलाहरूको उद्धार गर्न, उनीहरूलाई आपतकालिन बासको व्यवस्था गर्न र कानुनी सहायता दिन समेत कठिन भएको छ ।’–आचार्यले भनिन्–‘साउनदेखि यता कोषको रकम वितरण भएको छैन । यो रकम वितरण कसले गर्ने भन्ने पनि कुनै निर्देशिका र स्थान तोकिएको छैन । यसले गर्दा हामी एकल महिला समस्यामा छौँ ।’
इलाममा पतिको मृत्यु भएर एकल भएका ६० वर्ष मुनिका मात्र २ हजार ३ सय एकल महिला रहेको मानव अधिकारका लागि एकल महिला समूहको तथ्याकङ्मा उल्लेख छ ।
यस्तै पारपाचुके गरेका र विवाह नगरी बसेका समेत गरी ४ हजार बढी एकल महिला रहेको समूहकी अध्यक्ष आचार्य बताउँछिन् ।
गतवर्ष भने जिल्लामा करिब २ लाख रुपियाँ कोष अन्तर्गत एकल महिलाका लागि व्यवसाय, शैक्षिक, स्वास्थ्य उपचार र कानुनी सहायताका लागि उपलब्ध भएको आचार्यले जनाएकी छन् ।
आचार्यका अनुसार व्यवसाय गर्नका लागि इच्छुक एकल महिलाले २ हजारदेखि २५ हजार रुपियाँ र सीप विकासमा २ हजार देखि ६ हजार रुपियाँसम्म एकल महिलाले पाउने गरेका थिए ।
एकल महिलाका समस्याका विषय जिल्ला प्रशासनमा आउने गरेपनि उक्त एकल महिला सुरक्षा कोषबाट काम नहुँदा भने समस्या भइरहेको इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना बताउँछन् ।
पहिला प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा भएको जिल्लास्तरीय समितिले यो कोषको रकम वितरण गर्ने भएपनि अहिले माथिबाट कोषसम्बन्धी केही जानकारी नआएको प्रजिअ तिम्सिनाको भनाइ छ ।